इरानको मिसाइल तथा ड्रोन आक्रमणपछि यूएईको हवाई क्षेत्र अस्थायी रूपमा बन्द

काठमाडौं । इरानबाट भएको नयाँ मिसाइल तथा ड्रोन आक्रमणपछि संयुक्त अरब इमिरेट्स (यूएई) ले आफ्नो हवाई क्षेत्र अस्थायी रूपमा बन्द गरेको छ । यूएईको जनरल सिभिल एभिएसन अथोरिटीले उडान सुरक्षा सुनिश्चित गर्न यो कदम चालिएको जनाएको छ ।

अल जजीराका अनुसार यूएईका सरकारी सञ्चार माध्यमहरूले यसलाई “उडान र हवाई चालक दलको सुरक्षा सुनिश्चित गर्न तथा देशको भौगोलिक अखण्डता जोगाउन गरिएको असाधारण सावधानीपूर्ण उपाय” बताएका छन् । यूएईको रक्षा मन्त्रालयले इरानबाट प्रहार गरिएका मिसाइल र ड्रोनहरूलाई आफ्नो वायु रक्षा प्रणालीमार्फत अवरोध गर्ने काम भइरहेको जनाएको छ । दुबईका विभिन्न स्थानमा सुनिएको ठूलो आवाज वायु रक्षा प्रणालीले मिसाइल तथा ड्रोन अवरोध गर्दा आएको बताइएको छ ।

यसैबीच अबुधाबीको मिडिया कार्यालयका अनुसार ड्रोन आक्रमणपछि अबुधाबी शहरबाट करिब १८० किलोमिटर दक्षिणपश्चिममा रहेको विशाल शाह ग्यास क्षेत्रमा लागेको आगोको मूल्यांकन गर्न त्यहाँको सञ्चालन अस्थायी रूपमा स्थगित गरिएको छ । उक्त आक्रमणपछि ग्यास क्षेत्रमा आगलागी भएको थियो, जसलाई अहिले नियन्त्रणमा लिइएको छ। घटनामा कुनै मानवीय क्षति भने नभएको जनाइएको छ ।

शाह ग्यास क्षेत्र विश्वकै ठूला ग्यास उत्पादन केन्द्रमध्ये एक मानिन्छ । सरकारी स्वामित्वको अबुधाबी नेशनल आयल कम्पनी (एडनोक) ले सञ्चालन गर्ने यस क्षेत्रबाट दैनिक करिब १.२८ अर्ब स्ट्यान्डर्ड क्युबिक फिट ग्यास उत्पादन गर्ने क्षमता रहेको छ । यसअघि सोमबार पनि ड्रोन आक्रमणपछि यूएईको फुजैराह पेट्रोलियम औद्योगिक क्षेत्रमा ठूलो आगलागी भएको थियो । यूएईको ऊर्जा तथा यातायात पूर्वाधारहरूलाई इरानले पटक–पटक निशाना बनाइरहेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले जनाएका छन् 

थप समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.