ललितपुर, २६ वैशाख — ललितपुरको जावलाखेलस्थित मुन म्यानपावर प्रालिमा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले छापा मारेको छ। मन्त्रालयको टोलीले शुक्रबार प्रहरीसहित म्यानपावर कार्यालयमा पुगेर अनुगमन तथा छानबिन गरेको हो।
श्रममन्त्री रामजी यादवका स्वकीय सचिव सरोज यादवका अनुसार मलेसिया जान लागेका एक युवाले प्रधानमन्त्री कार्यालयमा गुनासो गरेपछि मन्त्रालयले कारबाही अघि बढाएको हो। गुनासोको आधारमा मन्त्रालयको टोलीले म्यानपावर कार्यालयमा छापा मारेको जनाएको छ।
छापाका क्रममा कार्यालयबाट ४३७ वटा राहदानी (पासपोर्ट) तथा ७ लाख ९० हजार रुपैयाँ नगद बरामद गरिएको मन्त्रालयले जनाएको छ। बरामद नगदको कुनै रसिद वा स्पष्ट विवरण फेला नपरेको सरोज यादवले जानकारी दिए।
प्रधानमन्त्री कार्यालयबाट जानकारी प्राप्त भएपछि मन्त्रालयले तत्काल अनुगमन टोली खटाएको उनले बताए। प्रारम्भिक अनुसन्धानपछि म्यानपावर कार्यालय सिल गरिएको छ भने थप कानुनी कारबाही प्रक्रिया अगाडि बढाइएको मन्त्रालयले जनाएको छ।
मन्त्रालयले वैदेशिक रोजगारीसँग सम्बन्धित कुनै पनि गुनासो वा अनियमितताबारे जानकारी भए सम्बन्धित निकायमा खबर गर्न सर्वसाधारणलाई आग्रह समेत गरेको छ।
