काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपीएल) को दोस्रो खेलमा कोलकाता नाइट राइडर्सले राजस्थान रोयल्सलाई आठ विकेटले पराजित गर्दै शानदार जित निकालेको छ। पहिलो खेलमा रोयल च्यालेन्जर्स बैंग्लोरसँग सात विकेटले पराजित भएको कोलकाताले यसपटक उत्कृष्ट प्रदर्शन गर्दै राजस्थानलाई हराएको हो।
कोलकाताको जितका नायक ओपनर क्विन्टन डि कक रहे। उनले उत्कृष्ट प्रदर्शन गर्दै नटआउट रहँदै टिमलाई जित दिलाए। ६१ बल खेलेका डि ककले ६ छक्का र ८ चौकाको मद्दतमा ९७ रन बनाएका थिए। उनी मात्र ३ रनले व्यक्तिगत शतक बनाउन चुके।
यो जितसँगै कोलकाताले दुई खेलमा दुई अंक जोडेको छ भने राजस्थानले लगातार दोस्रो हार बेहोरेको छ। पहिलो खेलमा सनराइजर्स हैदरावादसँग ४४ रनले पराजित भएको राजस्थान अंकविहीन छ।
टस जितेर पहिले फिल्डिङ रोजेको कोलकाताले राजस्थानलाई १५२ रनको सामान्य लक्ष्य दिएको थियो। कोलकाताले १५ बल बाँकी छँदा मात्र दुई विकेट गुमाउँदै १५३ रन बनाएर लक्ष्य पूरा गर्यो।
कोलकाताले ओपनर मोइन अलीलाई ५ रनमै गुमाएको थियो भने कप्तान अजिंक्य रहाने पनि १८ रनमै आउट भए। तर, डि कक र अंगकृष रघुवंशीले तेस्रो विकेटका लागि ८३ रनको महत्वपूर्ण साझेदारी गर्दै टिमलाई सहज जित दिलाए। यो साझेदारी नै कोलकाताको पुनरागमनमा निर्णायक सावित भयो।
