ललितपुर। पाटनका ऐतिहासिक गल्ली, सम्पदा र संस्कृतिलाई दौडसँग जोड्ने उद्देश्यले ‘गल्लि रन २०२६’ आयोजना हुने भएको छ। सन् २०१५ मा पहिलोपटक आयोजना भएको यो कार्यक्रम ११ वर्षपछि पुनः आयोजना हुन लागेको हो।
आगामी नोभेम्बर २९ अर्थात् २०८३ मंसिर १३ गते आइतबार दिउँसो ३ बजे पाटनमा आयोजना हुने कार्यक्रममा करिब ८.५ किलोमिटर दूरीको दौड सञ्चालन गरिनेछ।
‘हरेक गल्लीको आफ्नै कथा छ’ भन्ने भावनासहित आयोजना हुन लागेको कार्यक्रमले पाटनको ऐतिहासिक पहिचान, जीवन्त संस्कृति, परम्परागत कला तथा सम्पदालाई नयाँ पुस्तामाझ चिनाउने लक्ष्य राखेको छ।
कार्यक्रममा दौडसँगै स्थानीय संस्कृति, परम्परागत खानाका परिकार, कला र संगीतलाई समेत जोडिएको छ। ‘Run the Heritage, Taste the Culture, Feel the Art, Live the Music’ भन्ने नारामार्फत पाटनको मौलिक सांस्कृतिक वातावरणको अनुभव गराउने अवधारणा अघि सारिएको छ।
पाटनका ऐतिहासिक गल्ली, मन्दिर, बहाल, चोक तथा परम्परागत बस्तीले बोकेको सांस्कृतिक पहिचानलाई उत्सवका रूपमा प्रस्तुत गर्ने कार्यक्रमले स्थानीय समुदाय, युवा पुस्ता तथा आगन्तुकलाई सम्पदासँग जोड्ने अपेक्षा गरिएको छ।
११ वर्षपछि पुनः आयोजना हुन लागेको गल्लि रनले पुराना सम्झनालाई ताजा बनाउँदै पाटनको सम्पदा, संस्कृति र पर्यटन प्रवर्द्धनमा योगदान पुर्याउने विश्वास आयोजकले लिएका छन्।
गल्लि रन २०२६ मा सहभागी हुन इच्छुक धावक तथा सर्वसाधारणलाई आयोजकले कार्यक्रममा सहभागी हुन आह्वान गरेका छन्। करिब ८.५ किलोमिटर दूरीको दौडमा सहभागितासम्बन्धी दर्ता प्रक्रिया तथा थप जानकारी आयोजकको आधिकारिक माध्यमबाट प्राप्त गर्न सकिनेछ।
