ललितपुर महानगरपालिकाद्वारा प्लास्टिकका फूल तथा माला बिक्री–वितरण र प्रयोगमा प्रतिबन्ध

ललितपुर, कात्तिक २१। चाडपर्वका समयमा प्लास्टिकका फूल, माला, खादा तथा सजावटका सामग्रीको प्रयोग बढ्दै गएको भन्दै ललितपुर महानगरपालिकाले यस्ता सामग्रीको आयात, भण्डारण, बिक्री–वितरण तथा प्रयोगमा प्रतिबन्ध लगाएको छ।

महानगरपालिकाले नेपालीहरूको महान् चाड दसैँ, तिहार, नेपाल संवत् तथा छठ पर्वको अवसरमा सार्वजनिक सूचना जारी गर्दै महानगर क्षेत्रभित्र प्लास्टिकजन्य फूलमाला तथा सजावटका सामग्री प्रयोग नगर्न आग्रह गरेको हो।

महानगरपालिकाका अनुसार प्लास्टिकका फूल तथा मालाहरू प्राकृतिक रूपमा कुहिएर नष्ट नहुने भएकाले वातावरणीय प्रदूषण बढ्नुका साथै फोहोरमैला व्यवस्थापनमा समेत चुनौती थपिएको छ। यस्ता सामग्रीको अत्यधिक प्रयोगले मानव स्वास्थ्यमा प्रतिकूल असर पार्नुका साथै स्वदेशी फूल उत्पादक किसानको व्यवसायमा समेत नकारात्मक प्रभाव परेको महानगरको भनाइ छ।

स्वच्छ, सफा, सुन्दर तथा वातावरणमैत्री महानगर निर्माण गर्ने नीतिअनुरूप महानगरपालिकाले स्थानीय सरकार सञ्चालन ऐन, २०७४ तथा प्रचलित वातावरण संरक्षणसम्बन्धी कानुनी व्यवस्थाका आधारमा उक्त निर्णय गरेको जनाएको छ।

जारी सूचनामा प्रतिबन्धित प्लास्टिकका फूलमाला बिक्री–वितरण वा प्रयोग गरेको पाइएमा महानगरपालिकाको अनुगमन टोलीले त्यस्ता सामग्री जफत गर्नुका साथै कानुनबमोजिम कारबाही तथा जरिवाना गर्ने चेतावनी दिएको छ।

महानगरपालिकाले चाडपर्वमा प्राकृतिक तथा स्थानीय उत्पादनलाई प्राथमिकता दिन पनि सर्वसाधारणलाई आग्रह गरेको छ। विशेषगरी सयपत्री, मखमली तथा गोदावरीजस्ता स्थानीय फूलहरूको प्रयोग गर्न र स्वदेशी किसानलाई प्रोत्साहन गर्न महानगरले अपिल गरेको छ।

यस अभियानलाई सफल बनाउन महानगरपालिकाले सम्पूर्ण व्यापारिक फर्म, व्यवसायी, संघसंस्था तथा नगरवासीलाई प्लास्टिकजन्य सामग्रीको प्रयोग निरुत्साहित गर्दै वातावरण संरक्षणमा सहयोग पुर्‍याउन आग्रह गरेको छ।

प्लास्टिकजन्य फोहोर न्यूनीकरण, स्थानीय कृषि उत्पादनको प्रवर्द्धन र वातावरणमैत्री चाडपर्व मनाउने उद्देश्यसहित महानगरपालिकाले अघि सारेको यो कदमलाई वातावरण संरक्षणतर्फको महत्वपूर्ण पहलका रूपमा हेरिएको छ।

थप समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.