ललितपुरको महालक्ष्मी नगरपालिका–८, लुभुस्थित लाछीमा ‘लुभु म्युजिक फेस्टिभल–२’ आयोजना हुने भएको छ। स्थानीय कला, संस्कृति, संगीत र खानाका परिकारलाई एकै ठाउँमा जोड्ने उद्देश्यसहित आगामी कात्तिक २२ गते आइतबार महोत्सव आयोजना गर्न लागिएको हो।
झिन्येवा पुचःको आयोजनामा हुने उक्त महोत्सव दिउँसो १२ बजेदेखि सुरु हुनेछ। कार्यक्रममा संगीत, सांस्कृतिक प्रस्तुति, स्थानीय खानाका परिकार तथा मनोरञ्जनात्मक गतिविधिहरू समेटिने आयोजकले जनाएको छ।
स्थानीय मौलिक संस्कृति र सांस्कृतिक पहिचानलाई प्रवर्द्धन गर्दै नयाँ पुस्तालाई आफ्नो कला, परम्परा र समुदायसँग जोड्ने अवसरका रूपमा यस महोत्सवलाई लिन सकिन्छ।
विशेषगरी स्थानीय समुदाय, युवा पुस्ता तथा संगीतप्रेमीहरूलाई लक्षित गरिएको महोत्सवले लुभुको सांस्कृतिक तथा सामाजिक गतिविधिलाई थप जीवन्त बनाउने अपेक्षा गरिएको छ।
संगीत, संस्कृति, खानाका परिकार र सामुदायिक जमघटको संयोजन रहने महोत्सवमा सहभागी भई रमाइलो गर्न आयोजकले सबैलाई निमन्त्रणा गरेको छ।
