ललितपुरसहित उपत्यकाका तीन जिल्लामा आजदेखि मासु जाँच ऐन लागू, ५८ निरीक्षक परिचालन गरिँदै

ललितपुर। उपभोक्तालाई स्वच्छ, स्वस्थ र गुणस्तरीय मासु उपलब्ध गराउने उद्देश्यले आज (मंसिर १) देखि ललितपुरसहित काठमाडौं उपत्यकाका तीनवटै जिल्लामा ‘पशु वधशाला तथा मासु जाँच ऐन, २०५५’ कार्यान्वयनमा आएको छ।

करिब २८ वर्षअघि जारी भएको उक्त ऐन पहिलो चरणमा काठमाडौं, ललितपुर र भक्तपुरका २१ वटै स्थानीय तहमा लागू गरिएको हो। ऐन कार्यान्वयनका लागि ललितपुरमा ५८ जना, काठमाडौंमा १४७ जना र भक्तपुरमा ३५ जना गरी उपत्यकाभर २४० जना तालिमप्राप्त मासु निरीक्षक परिचालन गर्ने तयारी गरिएको छ।

ललितपुरस्थित एभरेस्ट बंगुर वधशालाबाट पनि मासु परीक्षण तथा प्रमाणीकरण प्रक्रिया सुरु गरिएको छ। नयाँ व्यवस्थाअनुसार पशुपन्छी वध गर्नुअघि स्वास्थ्य परीक्षण गरिनेछ भने वधपछि मासुको गुणस्तर र स्वच्छता जाँच गरी उपभोगयोग्य ठहरिएमा मात्र आधिकारिक छाप लगाइनेछ।

अब वधशाला स्थापना तथा मासु पसल सञ्चालन गर्न सम्बन्धित सरकारी निकायबाट अनुमति लिनुपर्नेछ। रोगी वा मरेका पशुपन्छीको मासु बिक्री गर्न, मासुमा मिसावट गर्न तथा जथाभावी पशु वध गर्न पाइने छैन।

ऐन उल्लंघन गरी विनाइजाजत वधशाला सञ्चालन गर्ने वा दूषित मासु बिक्री गर्नेलाई ५ हजारदेखि २० हजार रुपैयाँसम्म जरिवाना, एकदेखि तीन महिनासम्म कैद वा दुवै सजाय हुन सक्ने व्यवस्था छ।

सरकारले ऐनलाई चरणबद्ध रूपमा देशभर लागू गर्ने योजना बनाएको छ। उपत्यकाबाहिरका महानगरपालिका, उपमहानगरपालिका तथा नगरपालिकामा आगामी माघ १ गतेदेखि र बाँकी गाउँपालिकामा २०८४ साउन १ गतेदेखि लागू गर्ने तयारी गरिएको छ।

थप समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.