कफी बनाउने सीपदेखि रोजगारीको अवसरसम्म : ललितपुर महानगरपालिका–८ मा युवालाई एडभान्स बारिस्टा तालिम

ललितपुर। कफीको स्वादसँगै त्यसलाई बनाउने कला र सीप सिक्ने युवाहरूका लागि ललितपुर महानगरपालिका वडा नं. ८ ले एडभान्स बारिस्टा तालिम सञ्चालन गर्ने भएको छ। युवालाई व्यावहारिक तथा व्यावसायिक सीपसँग जोड्ने उद्देश्यसहित वडा कार्यालयले १५ दिने तालिम आयोजना गर्न लागेको हो।

वडास्तरीय बजेटबाट सञ्चालन हुन लागेको तालिम आगामी मंसिर ६ गतेदेखि वडा नं. ८ को कार्यालय भवनमा सुरु हुनेछ। तालिममा वडाभित्रका युवालाई प्राथमिकता दिइनेछ।

पछिल्लो समय कफी संस्कृति विस्तार हुँदै जाँदा कफी बनाउने सीप अर्थात् बारिस्टा सीपले पनि व्यावसायिक महत्त्व पाउँदै गएको छ। कफी सप, रेस्टुरेन्ट तथा आतिथ्य सेवासँग सम्बन्धित क्षेत्रमा काम गर्न चाहने युवाका लागि यस्तो सीप उपयोगी हुन सक्छ। यही सम्भावनालाई ध्यानमा राख्दै वडा कार्यालयले आधारभूत तालिम लिइसकेका युवालाई थप दक्ष बनाउने उद्देश्यले एडभान्स तालिम सञ्चालन गर्न लागेको हो।

वडा कार्यालयले जारी गरेको सूचनाअनुसार तालिममा सहभागी हुन इच्छुक युवाले यसअघि बेसिक बारिस्टा तालिम लिएको हुनुपर्नेछ। इच्छुकले मंसिर ४ गतेभित्र वडा कार्यालयमा आफ्नो नाम दर्ता गराउनुपर्नेछ।

तालिममा सहभागी हुन तथा थप जानकारी लिन वडा सदस्य लक्ष्मी महर्जनलाई ९८४९७०७०६० नम्बरमा सम्पर्क गर्न सकिने वडा कार्यालयले जनाएको छ।

स्थानीय तहबाट सञ्चालन हुने यस्ता सीपमूलक कार्यक्रमले युवालाई व्यावहारिक ज्ञान र दक्षता हासिल गर्ने अवसर प्रदान गर्न सक्छन्। तालिमबाट प्राप्त सीपलाई रोजगारी तथा स्वरोजगारमा उपयोग गर्न सके युवाका लागि व्यावसायिक यात्राको नयाँ ढोका खुल्न सक्छ।

थप समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.