काठमाडौं । न्यायालयमा देखिएका विकृति, विसंगति तथा सर्वोच्च अदालतका न्यायाधीशसँग जोडिएका विवादलाई लिएर राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले संसदीय प्रक्रियामार्फत निकास खोज्ने निर्णय गरेको छ।
शनिबार बसेको पार्टी सचिवालय बैठकले न्याय क्षेत्रसँग सम्बन्धित विवादको निरुपण तथा न्यायपालिकाको पुनःसंरचनाका लागि संसदीय दललाई आवश्यक प्रक्रिया अघि बढाउन निर्देशन दिएको हो।
पार्टी प्रवक्ता जगदीश खरेलका अनुसार न्यायालयसँग जोडिएका पछिल्ला विवादलाई संसद्मार्फत सम्बोधन गर्नुपर्ने निष्कर्ष बैठकले निकालेको छ। महाअभियोग, छानबिन वा अन्य संसदीय प्रक्रिया कुन माध्यमबाट अघि बढाउने भन्ने विषय भने संसदीय प्रक्रियाबाट टुंगो लाग्ने उनले बताएका छन्।
यसअघि पार्टी सभापति रवि लामिछानेले कानुनमन्त्री सोविता गौतम तथा कानुनी पृष्ठभूमिका सांसदहरूसँग न्यायाधीश विवाद र सम्भावित कारबाहीका विकल्पबारे छलफल गरेका थिए।
प्रधानन्यायाधीश मनोजकुमार शर्मा र सर्वोच्च अदालतका न्यायाधीश हरि फुयाँलसँग जोडिएका विवाद सार्वजनिक भएपछि रास्वपाले यस विषयलाई गम्भीर रूपमा लिएको हो।
न्यायपालिकाको स्वतन्त्रता, जवाफदेहिता र संस्थागत सुधारसँग जोडिएको यस विषयमा अब संसद्मा कस्तो प्रक्रिया अघि बढ्छ भन्ने चासो बढेको छ।
