ओलीले खुम्च्याए शंकर पोखरेलको भूमिका

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीका महासचिव शंकर पोखरेलको भूमिका सीमित बनाउँदै लगेका छन्। पार्टीका महत्वपूर्ण निर्णय प्रक्रिया र सांगठनिक गतिविधिमा पोखरेलको भूमिकालाई कमजोर बनाइएको विषयले एमालेभित्रको शक्ति सन्तुलन र आन्तरिक राजनीतिबारे नयाँ बहस सिर्जना गरेको छ।

हालै सम्पन्न केन्द्रीय कमिटी बैठकमा देखिएको घटनाक्रमले पनि अध्यक्ष ओली र महासचिव पोखरेलबीचको जिम्मेवारी तथा भूमिकाको अन्तरलाई उजागर गरेको छ। पार्टीको बहुपदीय संरचनामा अध्यक्षले बैठकको अध्यक्षता गरेपछि महासचिवले कार्यक्रम सञ्चालन गर्ने अभ्यास रहँदै आएको भए पनि उक्त बैठकमा अध्यक्ष ओली आफैंले कार्यक्रम सञ्चालन गरेका थिए। यसलाई महासचिव पोखरेलको पदीय भूमिका सीमित पारिएको संकेतका रूपमा हेरिएको छ।

यसअघि २१ फागुनको निर्वाचनमा एमालेले व्यहोरेको पराजयपछि पार्टी पुनर्गठनको विषयले एमालेभित्र चर्चा पाएको थियो। अध्यक्ष ओलीलाई लामो समयदेखि साथ दिँदै आएका उपाध्यक्ष विष्णुप्रसाद पौडेल र महासचिव पोखरेलसमेत पार्टीको नेतृत्व र कार्यशैलीमा परिवर्तन आवश्यक रहेको निष्कर्षमा पुगेका थिए।

१० असारमा बसेको स्थायी कमिटी बैठकले पार्टी पुनर्गठनसम्बन्धी कार्यदल गठन गरेको थियो। कार्यदलले देशभरका नेता तथा कार्यकर्तासँग सुझाव संकलन गरी नेतृत्व पुनर्गठन र पार्टीको कार्यशैली सुधार गर्नुपर्ने निष्कर्षसहित प्रतिवेदन तयार पारेको थियो। उक्त प्रतिवेदन सचिवालयमा बहुमत पदाधिकारीको समर्थनमा पारितसमेत भएको बताइएको छ।

तर, अध्यक्ष ओलीले केन्द्रीय कमिटी बैठकमार्फत कार्यदलको प्रतिवेदन अघि बढ्न नदिएको र पुनर्गठन अभियानमा सक्रिय महासचिव पोखरेलको भूमिका समेत सीमित बनाएको स्रोतको दाबी छ।

पार्टीभित्रको शक्ति सन्तुलनमा आफ्नो पकड बलियो बनाउन ओलीले स्थायी कमिटीमा सात जना सदस्य मनोनयन गरेको विषय पनि चर्चामा छ। सचिवालयमा अल्पमतमा रहेका ओलीले स्थायी कमिटीमार्फत राष्ट्रिय भेला, वडा तथा पालिका अधिवेशन र केन्द्रीय सदस्य मनोनयनजस्ता महत्वपूर्ण निर्णय अघि बढाएको बताइएको छ।

आगामी २६ मंसिरमा सबै वडा र ४ पुसमा सबै पालिकाको अधिवेशन एकैपटक गर्ने निर्णय पनि पार्टीभित्रको सांगठनिक समीकरणसँग जोडेर हेरिएको छ। यसअघि २०७८ सालमा एमाले विभाजनपछि पनि वडा, पालिका र जिल्ला अधिवेशन एकैपटक गर्ने अभ्यास गरिएको थियो।

महासचिव पोखरेल पार्टीको नेतृत्व पुनर्गठन, नेताहरूको आत्मसमीक्षा र जनतासामु नयाँ प्रतिबद्धतासहित अघि बढ्नुपर्ने पक्षमा रहेको बताइन्छ। तर अध्यक्ष ओली भने पार्टीको नेतृत्व परिवर्तनभन्दा आफ्नै नेतृत्वमा राजनीतिक तथा सांगठनिक गतिविधि अघि बढाउनुपर्ने पक्षमा देखिएका छन्।

यस घटनाक्रमले एमालेभित्र अध्यक्ष ओली र महासचिव पोखरेलबीचको राजनीतिक दृष्टिकोण तथा पार्टी सञ्चालनको शैलीमा देखिएको अन्तरलाई थप सतहमा ल्याएको छ। पार्टीको आगामी महाधिवेशन नजिकिँदै गर्दा नेतृत्वको भूमिका, संगठनात्मक निर्णय र शक्ति सन्तुलनको विषय एमालेको आन्तरिक राजनीतिमा महत्वपूर्ण बन्ने देखिएको छ।

थप समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.