काठमाडौं । पूर्वप्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका बुवा मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन भएको छ।
एमाले सचिव पद्मा अर्यालका अनुसार केही दिनयता अस्वस्थ रहेका मोहनप्रसाद ओलीको शुक्रबार बिहान भक्तपुरको गठ्ठाघरस्थित कोरिया–नेपाल मैत्री अस्पतालमा उपचारका क्रममा निधन भएको हो।
उनको पार्थिव शरीर भक्तपुरको गुण्डुस्थित ओली निवासमा राखिने र आजै दिउँसो काठमाडौंको पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने पारिवारिक स्रोतले जनाएको छ।
मोहनप्रसाद ओली गठ्ठाघरस्थित छोरीको निवासमा बस्दै आएका थिए। गएराति स्वास्थ्यमा समस्या देखिएपछि उनलाई अस्पताल पुर्याइएको थियो। अस्पतालमा उपचारकै क्रममा उनको निधन भएको ओलीको सचिवालयले जनाएको छ।
यसअघि गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा झापास्थित उनको घरमा आगजनी भएको थियो। त्यसयता उनी झापा गएका थिएनन्। त्यसअघिसम्म भने उनी झापास्थित घरमा आउजाउ गरिरहन्थे।
