नेपाल सरकारको अर्थ मन्त्रालय अन्तर्गत बजेट तथा कार्यक्रम महाशाखाले सरकारी कर्मचारीहरूको तलब भुक्तानी प्रणालीमा परिवर्तन गर्ने निर्णय गरेको छ। मन्त्रालयले जारी गरेको आधिकारिक पत्रअनुसार अबदेखि राष्ट्रसेवक कर्मचारीहरूको तलब मासिक नभई अर्धमासिक (महिनामा दुई पटक) रूपमा वितरण गर्ने प्रक्रिया अघि बढाइएको छ।
मन्त्रालयले महालेखा नियन्त्रक कार्यालय, अनामनगरलाई सम्बोधन गर्दै पठाएको पत्रमा हालसम्म तलब भुक्तानी मासिक रूपमा हुँदै आएको उल्लेख गरिएको छ। तर, अब कर्मचारीहरूलाई सुविधा प्रदान गर्ने उद्देश्यले अर्धमासिक रूपमा तलब वितरण गर्ने व्यवस्था मिलाउन निर्देशन दिइएको छ।
पत्रमा जनाइएअनुसार मिति २०८३ साल वैशाख ४ गतेको निर्णय (माननीय अर्थमन्त्रीस्तर) अनुसार उक्त व्यवस्था लागू गर्न आवश्यक तयारी गर्न आग्रह गरिएको हो।
यो निर्णय लागू भएपछि कर्मचारीहरूले महिनामा दुई पटक तलब पाउने व्यवस्था हुनेछ, जसले नगद प्रवाह व्यवस्थापन तथा व्यक्तिगत आर्थिक योजना बनाउन सहज हुने अपेक्षा गरिएको छ।
सरकारी वित्तीय व्यवस्थापन सुधारका लागि विभिन्न नीतिगत पहलहरू भइरहेको सन्दर्भमा यस्तो निर्णय लिइएको देखिन्छ ।

