काठमाडौं । गृहसचिव एकनारायण अर्यालले सरुवा भई जाने प्रमुख जिल्ला अधिकारी(प्रजिअ)लाई आफू कार्यरत रहँदासम्मको जिल्लाको समग्र प्रतिवेदन बुझाएर मात्रै जान निर्देशन दिएका छन् ।
गृहसचिव अर्यालले जिल्लाको समग्र वस्तुस्थिति, शान्ति सुरक्षाको अवस्था एवं सुधार गर्नुपर्ने विषयहरू समेत समावेश गरी प्रतिवेदन तयार गरेर नयाँ आउने प्रमुख जिल्ला अधिकारीलाई बुझाउने र गृह मन्त्रालयमा पठाउने व्यवस्था मिलाउन निर्देशन दिएका हुन् ।
‘अन्य कर्मचारीहरूको हकमा प्रमुख जिल्ला अधिकारीले सम्बन्धित शाखा÷फाँटको कामको अद्यावधिक विवरण लिएर मात्र रमाना दिने प्रबन्ध मिलाउने,’ गृहसचिवस्तरीय निर्णयमा भनिएको छ ।
मुलुकको शान्ति सुरक्षाको जिम्मेवारी बोकेको गृहमा रेकर्ड सिस्टम कायम गर्न र थप व्यवस्थित तथा मजबुत बनाउन प्रतिवेदन अनिवार्य गरिएको गृह सचिव अर्यालको भनाइ छ । ‘यसले नयाँ सरुवा भई जाने सिडिओलाई जिल्लाको वस्तुस्थितबारे तत्काल जानकारी हुनुका साथै बुझ्न नै महिनौं लाग्ने समस्याको अन्त्य गर्छ’ गृह सचिव अर्यालले भने, ‘जसले सेवा प्रवाहमा एकरूपतासँगै चुस्ततासमेत ल्याउँछ ।’ रेकर्ड सिस्टमले जिल्लासँगै मन्त्रालयमा समेतको प्रजिअले के कसरी काम गरेको छ भन्नेबारेसमेत जानकारी रहने र सोको आधारमा मूल्यांकनसमेत हुने उनको भनाइ छ ।
गृह मन्त्रालय वा अन्तर्गतका एक निकायबाट अर्को निकायमा सरुवा भएका कर्मचारीहरूलाई तत्काल रमाना दिई सरुवा भएको निकायमा हाजिर हुन पठाउन साथै तलब भत्ता सरुवा भएकै निकायबाट भुक्तानी हुने व्यवस्था मिलाउन पनि सचिव अर्यालले निर्देशन दिएका छन् ।
