हेटौँडामा छठ पूजाको तयारी अन्तिम चरणमा

हेटौँडामा छठ पूजाको तयारी अन्तिम चरणमा

हेटौँडा । हेटौँडा उपमहानगरपालिका १ स्थित राप्तीतटमा छठ पर्व मनाउने तयारी अन्तिम चरणमा पुगेको छ । राप्तीतटलाई सरसफाई, पन्डाल टाँग्ने लगायत कार्य गरिएको छठ पूजा समारोह समिति जानकारी दिएको हो ।

बिहीबार अस्ताउँदो सूर्यलाई अर्घ दिएर छठ पर्व मनाउनका लागि ६ सय २० फिट लामो पन्डाल टाँगिएको छ । ‘गत वर्षको भन्दा यो वर्ष झन्डै सय फिट लामो पन्डाल टाँगिएको छ, छठ पूजा समारोह समितिका संयोजक रवि गुप्ताले भने,‘राप्ती खोला ठूलो भएकाले व्यवस्थित गर्न केही समय बढी लागेको छ, तर हामी तयारीको अन्तिम चरणमा पुगेका छौं ।’

तटमा टाँगिएको पन्डालमा ७ सयजना भन्दा बढी व्रतालु अट्ने क्षमताको छ । व्रतालुहरु बिहीबार रातभर त्यही पन्डालमुनि जाग्राम बसेर पूजा गर्नेछन् । छठ पर्वमा व्रतालु र अवलोकन गर्न जानेहरुको संख्या हजारौंको हुने गर्छ । गत वर्ष ६० हजारभन्दा बढीको सहभागिता रहेको आयोजकहरुको दाबी छ । यो वर्ष गत वर्षको भन्दा पनि बढी सहभागी हुने उनीहरुको अनुमान छ ।

तराईरमधेश, पहाड र हिमाल जोड्ने छठ पर्व अहिले सेतुको रुपमा रहेको छ । समितिका संयोजक गुप्ताले भने, यो पर्वले सबै समुदायलाई समेट्दै अगाडि बढेको छ ।’

हेटौंडामा बर्सेनि छठपर्व मनाउनेको संख्या बढ्दै गएको छ । यहाँ बसोबास गर्ने मधेसका हुन् वा पहाडका अधिकांश छठपर्वको दिन राप्तीतट पुग्ने गर्छन् । सूर्यदेवको आराधना र उपासना गर्ने कयौं व्रतालुहरु पहाडीया छन् । छठपर्व विशेषगरी तराईवासीले मनाउने गरे पनि पछिल्लो समय हेटौंडामा तराई तथा पहाडी दुवै समुदायले भक्तिभावले मनाउने गरेको सुशील सिनोरियो बनियाँले बताए ।

बिहीबार अस्ताउँदो सूर्यलाई अर्घ दिएर रातभर पण्डालमुनि छठीमाईको पूजाआज गरेर बिहान उदाउँदो सूर्यलाई अर्घ दिने गर्छन् । पण्डालमुनि ७ सयभन्दा बढी व्रतालु रातभर सूर्यदेवको आराधना र उपासना गर्नुका साथै छठीमाईको पूजा गर्छन् ।

हेटौंडाको बुद्धचोकदेखि राप्तीतटसम्म सडकको दायाँबायाँ बत्ती बालेर झिलिमिली बनाइएको छ । नियम निष्ठाका साथ मनाइने गरिएको यस पर्वको पहिलो दिन आइतबार व्रतालु महिला आत्मशुद्धि गर्छन् । लसुन र प्याज पनि नखाने, अरुवाअरुवाइन अर्थात् शुद्ध भोजन गर्छन् । यसलाई ‘नहायखाय’ भनिने गरिएको हो ।

दोस्रो दिन सोमबार दिनभर उपवासमा बसेर बेलुकीको समयमा नयाँ माटोको चुलोमा पूजाका लागि खीर पकाउने र सोही खीर घरको देवीदेउतालाई अर्पण गरेपछि परिवारका सदस्यबीच प्रसादका रुपमा वितरण गरी व्रतालुले आफू पनि प्रसादकै रुपमा ग्रहण गरेर व्रतलाई निरन्तरता दिने गरिन्छ ।

पर्वको तेस्रो दिन अस्ताउँदो सूर्यलाई अर्घ दिएर र चौथो दिन उदाउँदो सूर्यलाई अर्घ अर्पण गरेपछि चार दिनको यो पर्व विधिवत् रुपमा सम्पन्न हुने गर्छ ।

यस पर्वको मुख्य विशेषतामा शक्तिरुपी माता छठ र संसारलाई प्रकाशमान पार्ने सूर्यदेवको संयुक्त रुपमा पूजा गरेर पर्व मनाउने गरिन्छ । छठ पर्वमा व्रत गरे दुःख र दरिद्रताबाट मुक्ति पाइने जनविश्वास छ । यो पर्वको व्रत बसेमा मुख्यतः सन्तान प्राप्ति, रोग निदान र पारिवारिक कल्याण हुने विश्वास छ ।

महाभारतका अनुसार द्रौपदीसहित पाण्डव अज्ञातवासमा रहँदा उक्त गुप्ताबास सफल होस् भनी सूर्यदेवलाई आराधना गरेका थिए । उक्त समयमा पाण्डव मिथिलाको किरात राजाका क्षेत्रमा बास बसेको उल्लेख छ । लोक कथनबमोजिम सोही समयदेखि छठ मनाउने परम्पराको थालनी भएको हो ।

सूर्य पुराणअनुसार सर्वप्रथम पत्नी अनुसुईयाले छठ व्रत गरेकी थिइन् । फलस्वरुप उनले अटल सौभाग्य र परिप्रेम प्राप्त गरिन् र त्यही बेलादेखि छठ गर्ने परम्पराको सुरुआत भएको तथ्य उल्लेख छ ।

थप समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.