काठमाडौं, माघ २७ – काठमाडौंको ठमेलस्थित सार्वजनिक सडक खण्डमा प्रहरीमाथि अभद्र व्यवहार गर्ने दुई जना युवालाई प्रहरीले नियन्त्रणमा लिएको छ। पक्राउ परेका व्यक्ति जिल्ला ताप्लेजुङका दिनेश सिग्देल र जिल्ला डडेलधुराका रमेश फुलारा रहेका छन्।
माघ २४ गते राति ठमेलको सडकमा पाँच छ जनाको समूह होहल्ला गर्दै हिँडिरहेको अवस्थामा प्रहरी वृत्त दरबारमार्गको क्युआरटी टोलीले नियन्त्रणमा लिन खोज्दा प्रहरीले सम्झाइ बुझाइ गर्न खोज्दा उनीहरूले प्रहरीमाथि आक्रमण तथा अभद्र व्यवहार गरेका थिए। घटनाका क्रममा उनीहरूले प्रहरीको सवारी साधन क्युआरटी मोटरसाइकल समेत तोडफोड गरी फरार भएका थिए।
प्रहरीले उनीहरूको खोजतलास जारी राख्दै माघ २७ गते काठमाडौं महानगरपालिका वडा नम्बर ९ एयरपोर्ट क्षेत्रबाट पक्राउ गरेको हो। पक्राउ परेका व्यक्तिहरूलाई अभद्र व्यवहार सम्बन्धी कसुर मुद्दामा जिल्ला प्रशासन कार्यालय बबरमहल काठमाडौंबाट पाँच दिनको म्याद थप अनुमति लिई थप अनुसन्धान भइरहेको प्रहरी वृत्त दरबारमार्गले जनाएको छ।
प्रहरीमाथि आक्रमण गर्ने अन्य व्यक्तिहरूको खोजी कार्य जारी रहेको र घटनामा संलग्न जो कोहीलाई कानूनी दायरामा ल्याइने प्रहरीले जनाएको छ।
