काठमाडौं – सङ्घीय संसदअन्तर्गत प्रतिनिधिसभाको बैठक आज दिउँसो १ बजे संसद भवन, नयाँ बानेश्वरमा बस्ने भएको छ। बैठकमा विभिन्न महत्वपूर्ण एजेन्डाहरू प्रस्तुत गरिने कार्यसूची रहेको छ।
आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा नियमावली, २०७९ को परिच्छेद– ९ अनुसार सांसदहरूले उठाएका प्रश्नहरूको जवाफ दिनेछन्। संसदमा प्रधानमन्त्रीसँगको प्रश्नोत्तर सत्रलाई विशेष चासोका साथ हेरिएको छ।
साथै, सभामुख देवराज घिमिरेले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त कार्यभार थप सम्बन्धी पत्र संसदमा पढेर सुनाउने कार्यक्रम रहेको छ।
त्यसैगरी, गृह मन्त्री रमेश लेखकले ‘नेपाल नागरिकता (दोस्रो संशोधन) विधेयक, २०८१’ माथि सामान्य छलफल गर्न प्रस्ताव पेश गर्नेछन्। यो विधेयक नागरिकता सम्बन्धी व्यवस्थाहरूमा परिवर्तन ल्याउने प्रस्ताव गरिएको कानूनी दस्तावेज हो, जसले संसदमा व्यापक छलफल हुने अपेक्षा गरिएको छ।
यस्तै, वन तथा वातावरण मन्त्री ऐन बहादुर शाही ठकुरीले ‘मोन्ट्रियल प्रोटोकल किगाली संशोधन’ माथि सामान्य छलफल गर्न प्रस्ताव प्रस्तुत गर्ने कार्यतालिका छ। वातावरणीय सन्धि अन्तर्गत यो प्रोटोकलले ओजोन तहको संरक्षण तथा जलवायु परिवर्तन न्यूनीकरणमा योगदान पुर्याउने लक्ष्य राखेको छ।
यस प्रतिनिधिसभा बैठकलाई समसामयिक राष्ट्रिय मुद्दाहरूमा सांसदहरूका धारणा र सरकारको स्पष्ट जवाफ प्राप्त गर्ने अवसरका रूपमा हेरिएको छ।
