पर्सा, नेपाल – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफू हाल प्रधानमन्त्री बन्ने दौडमा नरहेको स्पष्ट पारेका छन्। नेकपा माओवादी केन्द्रद्वारा सञ्चालित तराई–मधेस जागरण अभियानमा सहभागी हुन वीरगञ्ज पुगेका अध्यक्ष प्रचण्डले प्रेस सेन्टर नेपाल, पर्साले आयोजना गरेको पत्रकार सम्मेलनमा २०८४ सम्म प्रधानमन्त्री बन्ने होडमा आफू नरहेको धारणा व्यक्त गरे।
अध्यक्ष प्रचण्डले सरकारमा हुँदा एक कुरा र सरकार बाहिर हुँदा अर्कै कुरा गर्ने आरोप माओवादीलाई उपयुक्त नहुने बताए। उनले सरकारमा रहँदा भ्रष्टाचारविरुद्ध कठोर कदम चालिएको उल्लेख गर्दै, मिटरब्याज पीडितका पक्षमा ऐन निर्माणदेखि नागरिकता नपाएका युवाहरूको समस्या समाधान गर्न महत्वपूर्ण भूमिका खेलेको बताए।
आर्थिक विकासलाई तीव्र गति दिन र सुशासन कायम राख्न सरकार बाहिर रहँदा पनि निरन्तर आवाज उठाइरहेको उल्लेख गर्दै अध्यक्ष प्रचण्डले भने, ‘सरकारमा हुँदा वा सरकार बाहिर, माओवादी एउटै हो।’ उनले माओवादी केन्द्रले सधैं भ्रष्टाचारविरुद्ध कडा अभियान चलाउँदै आएको दाबी गरे।
संविधान निर्माणको क्रममा दश वर्षभित्र संविधानको समीक्षा र परिमार्जन गर्ने विषय स्पष्ट पारिएको उल्लेख गर्दै अध्यक्ष प्रचण्डले अब त्यसको समयावधि पूरा हुन लागेको बताए। उनले संविधानको समीक्षा अपरिहार्य भएकाले त्यसका लागि जनताको समर्थन आवश्यक रहेको बताए।
उनले पार्टीले हुलाकी सडक केन्द्रित तराई–मधेस जागरण अभियान थालेको र चाँडै मध्यपहाडी लोकमार्ग केन्द्रित अभियान सुरु गरिने जानकारी दिए।
अध्यक्ष प्रचण्डको पछिल्लो अभिव्यक्तिले नेपाली राजनीतिक वृत्तमा नयाँ बहस सिर्जना गर्ने देखिन्छ। अब उनको भावी राजनीतिक रणनीति कस्तो हुनेछ भन्ने विषयमा चासो बढेको छ।
