काठमाडौं – प्रहरीले चोरी भएका मोबाइल, ल्यापटप तथा ट्याबहरूसहित ७ जनालाई नियन्त्रणमा लिएको छ। मिति २०८९/१२/०७ राति करिब १८:०० बजे ठिमीबाट कोटेश्वरतर्फ सार्वजनिक बसमा यात्रा गरिरहेका व्यक्तिको मोबाइल पाकेटमारी गरी भागेको सूचना प्राप्त भएपछि प्रहरीले तत्काल खोजी अभियान सञ्चालन गरेको थियो।
प्रारम्भिक अनुसन्धानका क्रममा पक्राउ परेका व्यक्तिहरूले चोरी भएका मोबाइल भक्तपुरको जगातीस्थित ‘सरोज मोबाइल रिपेयरिङ सेन्टर’मा बिक्री गर्ने गरेको खुल्न आएको छ। उक्त रिपेयरिङ सेन्टरमा प्रहरीद्वारा गरिएको खानतलासीका क्रममा लुकाइछिपाइ राखिएको अवस्थामा विभिन्न कम्पनीका २७१ थान मोबाइल, ९ थान ट्याब तथा १५ थान ल्यापटप बरामद गरिएको छ। घटनामा संलग्न रिपेयरिङ सेन्टर सञ्चालकसहित ७ जनालाई नियन्त्रणमा लिइ थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
पक्राउ परेका व्यक्तिहरू क्रमशः काभ्रेका प्रमोद परियार, गुनराज न्यौपाने, रौतहटका हेमन्त राना मगर, दोलखाका शम्भु विश्वकर्मा, सिन्धुपाल्चोकका राजेश चालिसे, दोलखाका सबिन पाण्डे र काठमाडौंका प्रकाश कट्वाल रहेको प्रहरीले जनाएको छ। प्रमोद परियार (३५) काभ्रेको बेथानचोक गा.पा. ५ स्थायी घर भई हाल ललितपुर, सानागाउँमा बस्दै आएका छन्। गुनराज न्यौपाने (२६) काभ्रेको खानिखोला गा.पा. ५ स्थायी घर भई हाल भक्तपुर, ठिमीमा बस्ने गरेका छन्। हेमन्त राना मगर (३०) रौतहटको चन्द्रनिगाहपुर न.पा. १ स्थायी बासिन्दा भई हाल भक्तपुर, ठिमीमा बस्दै आएका छन्। दोलखाका शम्भु विश्वकर्मा (२८) सैलुङ गा.पा. ६ स्थायी घर भई हाल भक्तपुर, जगातीमा बस्दै आएका छन्। सिन्धुपाल्चोकका राजेश चालिसे (२२) मेलम्ची न.पा. ११ स्थायी घर भई हाल भक्तपुर, गठ्ठाघरमा बस्दै आएका छन्। दोलखाका सबिन पाण्डे (२१) कालिन्दोक गा.पा. ५ स्थायी बासिन्दा भई हाल काठमाडौं, चावहिलमा बस्दै आएका छन्। काठमाडौंका प्रकाश कट्वाल (२०) सिनामंगल स्थायी घर भई हाल भक्तपुर, ठिमीमा बस्ने गरेका छन्।
