हेटौंडा, मकवानपुर – हेटौंडा उपमहानगरपालिका–१ स्थित चौकीटालमा आफ्नै देवरद्वारा भाउजूको हत्या भएको घटना सार्वजनिक भएको छ। जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार राहुल भन्ने रमेश दासले बुधबार जेठी भाउजू ३५ वर्षीया गुडिया दासको हत्या गरेका छन्।
प्रहरी नायव उपरीक्षक (डीएसपी) श्यामु अर्यालका अनुसार रमेशले घरको दोस्रो तल्लामा रहेको कोठामा धारिलो हतियार प्रयोग गरी भाउजू गुडिया दासको टाउकोमा आक्रमण गरेका थिए। घटनाको जानकारी बुधबार राति ९:०० बजे प्राप्त भएपछि प्रहरी टोली तत्काल घटनास्थलमा पुगेको थियो। अनुसन्धानका क्रममा रमेशले खुकुरी प्रहार गरी आफ्ना दाजु २८ वर्षीय रुपेश दासलाई समेत घाइते बनाएको खुलेको छ।
प्रहरीका अनुसार बुधबार दिउँसो ४:१० बजे घरायसी विवादका क्रममा रमेशले खुकुरी प्रहार गर्दा रुपेश दासको टाउको, दाहिने हात तथा करङमा गम्भीर चोट लागेको छ। घाइते रुपेशको सहकारी अस्पतालमा उपचार भइरहेको छ। प्रहरी अनुसन्धानका क्रममा रमेशले भाउजूको समेत हत्या गरेको स्वीकारेका छन्। घटनामा संलग्न रमेश दासलाई खुकुरीसहित नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।
