ललितपुरका नापी प्रमुख ज्ञवालीले अनियमितता गरेको आरोप

ललितपुरका नापी प्रमुख ज्ञवालीले अनियमितता गरेको आरोप


ललितपुर । नापी कार्यालय ललितपुरमा कार्यरत प्रमुख नापी अधिकृत रमेश ज्ञवाली अनियमिततामा मुछिएका छन् । उनीमाथि भ्रष्टाचार र अनियमितता गरेको आरोप लागेको छ ।
ज्ञवालीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी समेत परेको छ । दर्ता नम्बर ८०४५४ को एक उजुरीअनुसार, ज्ञवालीले नापी कार्यालय, कास्कीमा कार्यरत रहँदा पोखरा उपमहानगरपालिका वडा नम्बर १७ को साबिक सरकारी पर्ती जग्गा मिलाएर छुट दर्ता गर्ने कार्यमा संलग्न रहेको तथ्य समेत उल्लेख गरिएको छ ।
२०७० सालमा रमेश बहादुर भट्टराईका नाममा हालको पोखरा उप–महनगरपलिका वडा नं. १७ नक्सा सिट नं. ०९३१०३९०४ कि.नं. २४७ क्षेत्रफल ४०९.५७ बर्ग मी.को जग्गा रमेश बहादुर भट्टराई पोखरा–६ कास्की (बाबुः भक्त बहादुर, बाजेः कर्ण बहादुर ना.प्र.प.नं. ८६–०१–७०–१०४७।२०७०।१२।१८ कास्की) को नाउँमा साबिकको सरकारी पर्ती जग्गा कित्ता नं.२९९ संग भिडाइ भएको जग्गा दर्ता प्रक्रिया अनियमित गरेको उल्लेख छ ।
उक्त कार्यमा ज्ञवाली स्वयंले लाखौं रुपैयाँ खर्च गरेर मिलाउन खोज्दा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेपछि सो कार्य तत्काल रोकिएको जनाइएको छ । उजुरीमा उल्लेख भए अनुसार, ज्ञवालीले कास्की कार्यालयमा कार्यरत रहँदा यस्ता धेरै छुट जग्गा दर्ता गराई अकुत सम्पत्ति आर्जन गरेको आरोप समेत लाग्ने गरेको छ ।
ज्ञवालीले आफन्तजन र नातेदारको नाममा विभिन्न बैंक खाताहरुमा भ्रष्टाचारबाट प्राप्त रकम जम्मा गरेर व्यवस्थापन गरेको आरोप पनि उजुरीमा उल्लेख छ । यसैगरी, बसुन्धरामा १० आना जग्गा खरिद गरी महँगो सजावटसहितको घर निर्माण गरिएको पनि उजुरीमा उल्लेख गरिएको छ ।
जागिर सुरू गरेको पाँच वर्षको सेवा अवधिमा ज्ञवालीले आफ्नो र आफन्तहरुको नाममा काठमाडौं र अन्य स्थानमा दर्जनौं रोपनी जग्गा जोडेको, बैंक खातामा ठुलो रकम जम्मा गरेको, काठमाडौमै आमाबाबुको नाममा घर निर्माण गरेको तथ्य समेत सार्वजनिक भएको छ ।
त्यसैगरी, भूमि व्यवस्था प्रशिक्षण केन्द्र, धुलिखेलमा २०७६÷०७७ देखि २०८० अशोजसम्म कार्यरत रहँदा उनले करिब ६० लाख मूल्यको ‘क्रस स्टेसन’ खरिदमा ठेकेदारसँग मिलेमतो गरी व्यापक अनियमितता गरेको समेत आरोप लागेको छ ।
२०–२५ हजारमै निर्माण गर्न सकिने ‘क्रस स्टेसन् पिलर’ निर्माणमा करिब आठ लाख खर्च देखाई ठूलो रकम हिनामिना गरेको कर्मचारीहरुले आरोप लगाउने गरेका छन् फील्ड कार्यमा नजाँदै पनि भ्रमण भत्ता बुझ्ने, तालिममा दोहोरो हाजिरी गरेर पैसा असुल्ने जस्ता गतिविधिमा संलग्न भएको उजुरीमा उल्लेख छ ।
ललितपुरमा कार्यरत रहँदा पनि ज्ञवालीले अनियमिततालाई निरन्तरता दिएको नाम नखुलाउने शर्तमा एक कर्मचारीले बताए । उनले कित्ताकाट, टायल चेकजस्ता कार्यमा कार्यालय सहयोगी र फाँटवालाको सहायतामा मोटो रकम असुल्ने, छुट जग्गा दर्ताको नाममा प्रत्येक आना जग्गाबाट ठुलो रकम उठाउने जस्ता कार्य भइरहेको ति कर्मचारीले नेपाल न्यूज बैंकलाई बताए । ज्ञवालीले अख्तियारलगायत उच्च निकायमा आफ्ना व्यक्तिहरु रहेको दाबी गर्ने गरेको पनि ति कर्मचारीले बताए ।

थप समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.