पोखरा, वैशाख ९
पोखराको सृजनाचोकस्थित एक रेष्टुरेन्टबाट नक्कली नेपाल प्रहरीका डिएसपी पक्राउ परेका छन्। आइतबार राति करिब १० बजे पोखरा महानगरपालिका–८ मा रहेको ‘ढावा रेष्टुरेन्ट एण्ड बार’ मा आफु नेपाल प्रहरीको डिएसपी भएको बताउँदै धाकधम्की दिने चन्द्रकान्त पौडेललाई प्रहरीले नियन्त्रणमा लिएको हो।
बागलुङ नगरपालिका–४ कुडुलेफेदी घर भएका ३२ वर्षीय पौडेलले रेष्टुरेन्टमा खाना अर्डर गरी आफुले मागे अनुसारका परिकार खाएपछि आफू प्रहरीको उच्च अधिकृत भएको भन्दै कर्मचारीलाई धम्क्याएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ।
घटनापछि पक्राउ परेका पौडेललाई अभद्र व्यवहार सम्बन्धी मुद्दामा जिल्ला प्रशासन कार्यालय कास्कीबाट १० दिनको म्याद थप गरी अनुसन्धान सुरु गरिएको छ।
प्रहरीले जनाए अनुसार पौडेल हाल जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा रहेका छन्, र उनीमाथि आवश्यक कानुनी प्रक्रिया अगाडि बढाइएको छ।
