सरकारको निर्णय: रजक र महर्जनका परिवारलाई १०–१० लाख राहत, शासकीय सुधार आयोग गठन

काठमाडौं, १० वैशाख — सरकारले गत चैत १५ गते काठमाडौंको तीनकुनेमा राजावादी आन्दोलनका क्रममा ज्यान गुमाएका पत्रकार सुरेश रजक र सर्वसाधारण सविन महर्जनका परिवारलाई राहतस्वरूप प्रति परिवार १०–१० लाख रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको छ।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले गृह मन्त्रालयको प्रस्तावमा उक्त निर्णय गरेको जानकारी सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले दिएका हुन्।

उनले भने, “२०८१ साल चैत १५ गते तीनकुनेमा भएको राजावादी आन्दोलनमा ज्यान गुमाएका स्व. पत्रकार सुरेश रजक र सर्वसाधारण सविन महर्जनको नजिकको हकदारलाई प्रति परिवार १० लाख रुपैयाँका दरले राहत रकम उपलब्ध गराउने निर्णय भएको छ।”

यस्तै, मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा १५ सदस्यीय उच्चस्तरीय शासकीय सुधार आयोग गठन गर्ने निर्णय पनि गरेको छ। प्रवक्ता गुरुङका अनुसार आयोगले शासकीय सुधारसम्बन्धी नीतिगत सुझाव र सिफारिस गर्नेछ।

मन्त्री गुरुङले शिक्षक आन्दोलनसँग सम्बन्धित विषयमा पनि सरकार संवेदनशील रहेको बताए। उनले प्लस टू परीक्षामा शिक्षकहरूको सहभागिता अत्यावश्यक भएको बताउँदै सरकार शिक्षकहरूको जायज माग सम्बोधन गर्न तयार रहेको स्पष्ट गरे।

“एसइईको उत्तरपुस्तिका समयमा जाँच नभए प्लस टू भर्ना प्रभावित हुन्छ र विद्यार्थीको भविष्य जोखिममा पर्न सक्छ,” उनले भने, “सरकार शिक्षकको मागप्रति गम्भीर छ, तपाईंहरूले परीक्षामा सहभागी भएर सरकारलाई सघाउनुपर्छ।”

शिक्षामन्त्रीको राजीनामाबारे प्रश्न उठेका बेला प्रवक्ता गुरुङले अहिलेसम्म सरकारले आधिकारिक जानकारी प्राप्त नगरेको बताए।

सरकारको पछिल्लो निर्णयले शोकसन्तप्त परिवारप्रति सहानुभूति प्रकट गर्नुका साथै प्रशासनिक सुधार र शैक्षिक जिम्मेवारीप्रति पनि सरकारको ध्यान केन्द्रित गराएको देखिन्छ।

थप समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.