काठमाडौं, १० वैशाख — चैत १५ गते काठमाडौंको तीनकुनेमा भएको हिंसात्मक प्रदर्शनमा संलग्न रहेको अभियोगमा पक्राउ परेका २४ जनालाई जिल्ला अदालत काठमाडौंले थप तीन दिन हिरासतमा राख्न अनुमति दिएको छ।
जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी अपिलराज बोहराले बुधबार जानकारी दिँदै राज्यविरुद्धको कसुरमा अनुसन्धान भइरहेका कारण अदालतले थप हिरासतको अनुमति दिएको बताए।
प्रहरीका अनुसार दुर्गा प्रसाईं, रवीन्द्र मिश्र लगायत २४ जना प्रदर्शनकारीमाथि राज्यविरुद्धको कसुरअन्तर्गत अनुसन्धान भइरहेको छ।
हिरासतमा रहेका अन्य व्यक्तिहरुमा पुष्कर खतिवडा, गोपाल मल्ल, गोपिकृष्ण खड्का, सन्तोष चौधरी, रामकुमार धिमाल, पशुपति खड्का, हरिहर चौलागाई, विष्णु चौलागाईं, मनिन्द्रराज भण्डारी, कुमार बस्नेत, अनिलकुमार थापा, तारानाथ बोहरा, दानबहादुर न्यौपाने, उमेश तामाङ, भानुभक्त पौडेल, विष्णुजंग बस्नेत, देवीप्रसाद संग्रौला, प्रेम थापा मगर, र दीपक खड्का रहेका छन्।
प्रदर्शनको क्रममा हिंसा भड्किएको, सार्वजनिक तथा निजी सम्पत्तिमा क्षति पुर्याइएको र शान्ति सुरक्षा खल्बल्याउने कार्यमा संलग्न भएको आरोपमा उनीहरूलाई प्रहरीले पक्राउ गरेको हो।
यस प्रकरणमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। अदालतबाट थपिएको तीन दिनको म्यादपछि उनीहरूमाथि अभियोग दायर गर्ने वा अन्य प्रक्रिया अगाडि बढाउनेबारे निर्णय हुने बताइएको छ।
