एमालेको ‘युथ सेलिब्रेशन’ भोलि काठमाडौंमा: ४० वर्षमुनिका एक लाख युवा सहभागी हुने तयारी

काठमाडौं, १० वैशाख — नेकपा एमालेले पार्टी स्थापना दिवस तथा लोकतन्त्र दिवसको अवसरमा ‘युथ सेलिब्रेशन’ नामक विशेष कार्यक्रम आयोजना गर्ने भएको छ। कार्यक्रम वैशाख ११ गते राजधानी काठमाडौंमा हुने बताइएको छ।

बुधबार पत्रकार सम्मेलनमार्फत जानकारी दिँदै एमाले निकट युवा संघ नेपालका अध्यक्ष क्षितिज थेवेले यो कार्यक्रम ऐतिहासिक लोकतान्त्रिक उपलब्धिको उत्सवका रूपमा मनाउन लागिएको बताए।

उनका अनुसार, कार्यक्रममा एमालेभित्र सक्रिय रहेका ४० वर्षमुनिका एक लाख युवालाई सडकमा ल्याउने लक्ष्य लिइएको छ।

थेवेले भने, “लोकतन्त्र प्राप्तिको ऐतिहासिक क्षणलाई नेपाली युवाले सेलिब्रेशन गर्नुपर्छ। यो लोकतन्त्रको उत्सव मात्र होइन, उत्सवहरूको पनि महाउत्सव हो। हामी यो अवसरलाई उन्नत लोकतन्त्र स्थापना गर्ने संकल्पको रुपमा लिनेछौं।”

उनले थपे, “देश निर्माण गर्ने पालो अब हाम्रो हो भन्ने भावना बोकेर हामी अगाडि बढिरहेका छौं। लोकतन्त्र जिन्दावाद भन्ने आवाजसँगै अब हामी उन्नत लोकतन्त्रको यात्रामा अग्रसर हुनेछौं।”

उनका अनुसार तयारी अन्तिम चरणमा पुगेको छ र भोलि हुने कार्यक्रममा सहभागी सबै युवालाई स्वागत गर्न आवश्यक व्यवस्थापन पूरा भइसकेको छ।

‘युथ सेलिब्रेशन’ कार्यक्रमले लोकतन्त्रप्रति युवाहरुको आस्था, सहभागिता र नेतृत्व क्षमताको प्रदर्शन गर्ने उद्देश्य लिएको आयोजकको भनाइ छ।

थप समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.