काठमाडौंको मखनटोलमा भीषण आगलागी, एक वृद्धाको मृत्यु, एक घाइते

काठमाडौं । काठमाडौंको मखन टोलमा आज बिहान आगलागी हुँदा एक जना वृद्धाको मृत्यु भएको छ भने एक महिला घाइते भएकी छिन् ।

काठमाडौं महानगरपालिका वडा नम्बर २४ स्थित मखन टोल महादेव चोकमा रहेको दयाराम श्रेष्ठको घरको तेस्रो तल्लामा बिहान ६ बजेर ५० मिनेटमा ग्यास लिक भएर आगलागी सुरु भएको थियो । आगो तुरुन्तै छेउमा रहेको रुकेश श्रेष्ठको पाँच तले घरमा पनि फैलिएको थियो ।

घटनाको खबर पाएलगत्तै ६ वटा दमकल घटनास्थलमा पुगेर आगो निभाउने प्रयास थालेका थिए । काठमाडौं प्रहरी प्रवक्ता अपिल राज बोहराका अनुसार बिहान ८ बजेर ५३ मिनेटमा आगो नियन्त्रणमा लिइएको थियो ।

यस आगलागीमा परी अन्दाजी ७० वर्षीया एक महिलाको घटनास्थलमै मृत्यु भएको छ । उनको सनाखत हुन बाँकी रहेको प्रहरीले जनाएको छ । त्यसैगरी, अन्दाजी ३८ वर्षीया एक महिला घाइते भएकी छिन् र उनको ट्रमा सेन्टरमा उपचार भइरहेको प्रवक्ता बोहराले जानकारी दिए ।

आगलागीको कारण र क्षतिको विस्तृत विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको छ ।

थप समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.