काठमाडौं । संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक आज पनि बस्दैछ । संसद भवन नयाँ बानेश्वरमा बिहान ११ बजे बस्ने बैठकमा आगामी आर्थिक वर्ष २०८२/८३ को विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथिको छलफल जारी रहनेछ ।
मंगलबारदेखि सुरु भएको विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता (कर प्रस्ताव बाहेक) माथिको छलफलमा सांसदहरुले आ-आफ्नो धारणा राख्ने क्रम आज पनि जारी रहने संसद सचिवालयले जनाएको छ ।
यसअघि राष्ट्रपति रामचन्द्र पौडेलले वैशाख १९ गते संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा प्रस्तुत गर्नुभएको सरकारको नीति तथा कार्यक्रम प्रतिनिधिसभा र राष्ट्रियसभाबाट आइतबार बहुमतले पारित भइसकेको छ ।
त्यस्तै, आजको बैठकमा ‘भूमि सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८२’ प्रस्तुत गर्न अनुमति माग्ने प्रस्तावमाथि सांसद प्रेम सुवालबाट प्राप्त विरोधको सूचनालाई निर्णयार्थ प्रस्तुत गरिने कार्यसूची रहेको छ । उक्त सूचनाउपर निर्णय भएपछि भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले ‘भूमि सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८२’ बैठकमा प्रस्तुत गर्नुहुनेछ ।
