काठमाडौं, २०८२ जेठ ४ – काठमाडौंको तीनकुनेमा गत चैत्र १५ गते राजावादीको आन्दोलन प्रत्यक्ष प्रसारण गर्ने क्रममा ज्यान गुमाएका पत्रकार सुरेश रजकको परिवारले घटनालाई रहस्यमय र शंकास्पद् बताउँदै छानबिनको माग गरेका छन्।
रजककी श्रीमती सुजनी मगिया रजकसहित परिवारजन आइतबार मानव अधिकार आयोग पुगेर औपचारिक निवेदन दर्ता गरेका हुन्। निवेदनमा उनले घटनालाई योजनाबद्ध, षड्यन्त्रपूर्ण वा आपराधिक नियतबाट गराइएको हुनसक्ने आशंका व्यक्त गरेकी छन्।
निवेदनमा उल्लेख छ, “आन्दोलनको प्रत्यक्ष प्रसारणकै क्रममा मेरो श्रीमानको रहस्यमय र शंकास्पद् मृत्यु भएको हो। राज्यबाट अहिलेसम्म कुनै स्पष्ट छानबिन नभएको हुँदा म मानव अधिकार आयोगमार्फत निष्पक्ष छानबिन र शीघ्र न्यायको माग गर्दछु।”
निवेदन प्राप्त गर्दै मानव अधिकार आयोगकी उपसचिव मञ्जु खतिवडाले घटनालाई गम्भीर रूपमा लिइएको जानकारी दिइन्। उनले आयोगले यो घटनामा फास्टट्रयाक प्रक्रियाबाट अनुसन्धान अघि बढाएको बताउँदै अनुसन्धान पूरा भइसकेको जानकारी दिइन्।
उनले भनिन्, “यो विषयलाई आयोगले विशेष गम्भीरतापूर्वक लिएको छ। अनुसन्धान अस्ति शुक्रबार फाइनल भएको छ, रिपोर्ट पनि दर्ता भइसकेको छ। अब एक-दुई दिनमा आयोगको निष्कर्ष सार्वजनिक गरिनेछ।”
खतिवडाका अनुसार, आयोगले निष्पक्षता सुनिश्चित गर्नका लागि बाह्य स्रोतबाट २ जना स्वतन्त्र विज्ञ समेत अनुसन्धानमा संलग्न गराएको थियो।
गएको चैत्र १५ गते भएको राजावादी प्रदर्शनमा रिपोर्टिङका क्रममा पत्रकार रजकको निधन भएको थियो। घटनाको स्वाभाव, समय र तत्कालको मौनताले यसमा थप रहस्य र जनचासो पैदा गरेको छ।
अब आयोगको छिट्टै आउने प्रतिवेदनले यस घटनामा नयाँ तथ्य उजागर गर्ने अपेक्षा गरिएको छ।
