प्रधानमन्त्री तथा नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आगामी २०८४ सालको निर्वाचनमा एमालेले एकल बहुमत ल्याउने दाबी गरेका छन्। नेपाल उत्पीडित जातीय मुक्ति समाजको सातौँ राष्ट्रिय महाधिवेशनको उद्घाटन समारोहमा बोल्दै उनले “मिसन ०८४” अन्तर्गत एमालेको लक्ष्य एकल बहुमत भएको स्पष्ट पारे।
प्रधानमन्त्री ओलीले भने, “एकल बहुमत ल्याउने उद्देश्य लिएका छौं, यो असम्भव होइन। हामीसँग त्यस्तो प्रणाली छ, जसले कसैलाई पनि सजिलै बहुमत ल्याउन दिँदैन, तर एमालेका लागि यो चुनौती पार गर्न सम्भव छ।”
उनका अनुसार वर्तमान प्रणाली—जसमा समानुपातिक प्रणाली पनि समावेश छ—बाट एकल बहुमत ल्याउनु कठिन भए पनि एमाले त्यसका लागि रणनीतिक रूपमा तयारी गरिरहेको छ।
प्रधानमन्त्री ओलीले व्यक्तिगत वा पार्टीगत स्वार्थभन्दा माथि उठेर देशको हितका लागि काम गरिरहेको दाबी पनि गरे। उनले भने, “देशको सुशासन, स्थिरता, विकास, समृद्धि, राष्ट्रिय स्वाधिनता र अखण्डता सुनिश्चित गर्न हाम्रो अभियान निरन्तर चलिरहेको छ।”
साथै, उनले केही तत्वले सामाजिक सञ्जालमार्फत भ्रम फैलाउने काम गरिरहेको भन्दै सचेत रहन आग्रह गरे। “विपक्षीहरूले जनतालाई भ्रममा पार्ने प्रयास गरिरहेका छन्, तर हामीले त्यो भ्रम चिर्न सुदृढ एकता कायम गर्नुपर्छ,” ओलीले जोड दिए।
कार्यक्रममा प्रधानमन्त्री ओलीले एमालेको आन्दोलन कुनै एक दिनको ‘भुल्को’ नभएको भन्दै एमाले कुनै “हाहा-हुहू गर्ने जमात” पनि नभएको स्पष्ट पारे।
