काठमाडौं, नेपाल — नेपाल राष्ट्र बैंकको नयाँ गभर्नरमा डा. विश्वनाथ पौडेल नियुक्त भएका छन्। मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले पौडेललाई गभर्नर नियुक्त गर्ने निर्णय गरेको हो।
निर्णयबारे जानकारी दिँदै सरकारका प्रवक्ता तथा सञ्चार, सूचना तथा प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले भने, “डा. विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको गभर्नर पदमा सिफारिस समितिले सिफारिस गरेको मध्यबाट नियुक्त गर्ने निर्णय भएको छ। एकदमै लामो प्रतिक्षामा रहेको विषयको आज टुङ्गो लागेको छ।”
डा. पौडेल राष्ट्र बैंकको १८औं गभर्नर बन्न पुगेका हुन्। सिफारिस समितिले तीन जनाको नाम मन्त्रिपरिषदमा पेस गरेको थियो, जसमा डा. पौडेल पहिलो प्राथमिकतामा थिए। अन्य दुई सिफारिस भएका उम्मेदवारहरूमा निलम ढुंगाना दोस्रो र दिनेश भट्टराई तेस्रो स्थानमा थिए।
नयाँ गभर्नरबाट देशको मौद्रिक नीति, वित्तीय स्थायित्व तथा आर्थिक व्यवस्थापनमा प्रभावकारी सुधारको अपेक्षा गरिएको छ।
