काठमाडौं । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन) लाई लक्षित गर्दै कडा अभिव्यक्ति दिएका छन्। सामाजिक सञ्जाल फेसबुकमा एक भिडियो पोस्ट गर्दै साम्पाङले “बालेनलाई चुनावमा हराउनेछौँ, जहाँबाट उम्मेदवारी दिन्छन् त्यहीँ हामी हराउनेछौँ” भन्दै दाबी गरेका हुन्।
उनले पोस्ट गरेको भिडियोमा खुला सभामा गरिएको सम्बोधन देखिन्छ, जहाँ साम्पाङले चेतना, परिश्रम र जनताको शक्ति नै परिवर्तनको आधार हुने बताएका छन्। उनले व्यक्तिवादभन्दा जनशक्ति बलियो हुने भन्दै आगामी चुनावमा वैकल्पिक शक्तिले जित हासिल गर्ने दाबी गरेका छन्।
हर्क साम्पाङको यो अभिव्यक्ति सार्वजनिक भएपछि सामाजिक सञ्जालमा तीव्र प्रतिक्रिया देखिएको छ। कतिपयले उनको भनाइलाई राजनीतिक चुनौतीका रूपमा लिएका छन् भने कतिपयले अनावश्यक विवाद सिर्जना गरिएको टिप्पणी गरेका छन्।
हालसम्म बालेन साहले यस विषयमा कुनै औपचारिक प्रतिक्रिया दिएका छैनन्। आगामी निर्वाचन नजिकिँदै गर्दा स्वतन्त्र र वैकल्पिक राजनीतिक धारका नेताबीच सार्वजनिक रूपमा आरोप–प्रत्यारोप सुरु हुन थालेको संकेतका रूपमा यस घटनालाई हेरिएको छ।
