मेयर पदबाट बालेन शाहको राजीनामा, महानगरमा नेतृत्व परिवर्तन

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले आफ्नो पदबाट औपचारिक रूपमा राजीनामा दिएका छन्। उनले आइतबार उपमेयर सुनिता डंगोलमार्फत नगर प्रमुख पदबाट राजीनामा बुझाएका हुन्।

मेयर शाहले पेश गरेको पत्रमा नेपालको संविधान २०७२, स्थानीय सरकार सञ्चालन ऐन २०७४ तथा काठमाडौं महानगरपालिकाको प्रचलित कानुनी व्यवस्था बमोजिम स्वेच्छाले राजीनामा दिएको उल्लेख छ। उनले मिति २०८२/१०/०४ गतेदेखि लागू हुने गरी राजीनामा प्रभावकारी हुने जनाएका छन्।

राजीनामा पत्रमा उनले आफ्नो कार्यकालमा काठमाडौं महानगरपालिका र नगरवासीको हितका लागि इमानदारीपूर्वक काम गर्ने प्रयास गरेको उल्लेख गर्दै आगामी दिनमा महानगरको नेतृत्व, सेवा प्रवाह तथा विकास यात्रालाई अझ प्रभावकारी, पारदर्शी र परिणाममुखी बनाउन सफलताको शुभकामना व्यक्त गरेका छन्।

महानगर स्रोतका अनुसार बालेन शाह आगामी निर्वाचनमा संसदीय राजनीतिमा प्रवेश गर्ने तयारीमा रहेका छन्। उनी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट प्रधानमन्त्रीको उम्मेदवारका रूपमा झापा–५ बाट चुनाव लड्ने तयारीमा रहेको बताइएको छ।

उनको राजीनामासँगै काठमाडौं महानगरपालिकामा नयाँ नेतृत्व चयनको प्रक्रिया अघि बढ्ने भएको छ।

थप समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.