काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले उम्मेदवार छनोट प्रक्रिया अन्तिम चरणमा पुगेको बताएका छन्। सामाजिक सञ्जाल फेसबुकमा सार्वजनिक गरेको भिडियो सन्देशमार्फत उनले समय र प्रक्रियागत बाध्यताबीच पनि पार्टीले समावेशी, सन्तुलित र न्यायपूर्ण निर्णय गर्ने भरपूर प्रयास गरिरहेको स्पष्ट पारेका हुन्।
सभापति थापाले उम्मेदवार छनोटलाई व्यक्तिगत विषय नभई पार्टीको साझा अभियानका रूपमा बुझ्न आग्रह गर्दै सबै नेता–कार्यकर्तालाई एकढिक्का भएर लाग्न आह्वान गरे। उनले भोलिदेखि आ–आफ्नो क्षेत्रमा गएर पार्टीका आधिकारिक उम्मेदवारको पक्षमा सक्रिय रूपमा खटिन निर्देशन दिए।
पार्टीको एकता, अनुशासन र सामूहिक प्रयासबाट मात्रै चुनावी चुनौती सामना गर्न सकिने उल्लेख गर्दै थापाले संगठनलाई बलियो बनाउँदै निर्वाचनमा सफलता हासिल गर्ने लक्ष्यमा केन्द्रित हुन कार्यकर्तालाई आग्रह गरेका छन्।
