काठमाडौं । एमालेका प्रभावशाली नेता महेश बस्नेतको क्षेत्र मानिने भक्तपुर निर्वाचन क्षेत्र नम्बर २ मा नेपाल जनादेश पार्टीकी उम्मेदवार शोभा पाठकले उम्मेदवारी दर्ता गराएसँगै चुनावी प्रतिस्पर्धा थप रोचक र कडा बन्ने संकेत देखिएको छ।
मंगलबार निर्वाचन अधिकृतको कार्यालय पुगेर पाठकले औपचारिक रूपमा उम्मेदवारी दर्ता गराएकी हुन्। उम्मेदवारी दर्तापछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै पाठकले राज्यका निकायहरूले अन्यायको आवाज नसुनेपछि अब संसदभित्रै गएर प्रश्न उठाउने उद्देश्यसहित चुनावी मैदानमा उत्रिएको बताइन्।
उनले भनिन्, ‘हिजोसम्म म सडकमा उभिएर अन्यायविरुद्ध बोल्दै आएको थिएँ। तर सरकारका निकायहरूले सुनेनन्। त्यसैले अब सदनमै गएर आवाज उठाउनुपर्छ भन्ने निष्कर्षमा पुगेँ र उम्मेदवारी दर्ता गराएकी हुँ।’
महेश बस्नेत लामो समयदेखि भक्तपुर–२ मा एमालेको बलियो अनुहार मानिँदै आएका छन्। सत्ता, संगठन र राज्य संयन्त्रसँग नजिक रहेको आरोप लाग्दै आएको बस्नेतको क्षेत्रमा पाठकको उम्मेदवारीलाई सत्ता र शक्तिकेन्द्रविरुद्धको प्रत्यक्ष चुनौतीका रूपमा हेरिएको छ।
सोही क्षेत्रमा एमालेबाट महेश बस्नेत, राष्ट्रिय स्वतन्त्र पार्टीबाट राजिव खत्री र नेकपा (एमालेबाहेकको) तर्फबाट रामप्रसाद सापकोटा ‘दिपशिखा’ले पनि उम्मेदवारी दर्ता गराएका छन्। यससँगै भक्तपुर–२ सत्ता समर्थित, वैकल्पिक र विद्रोही धारबीचको प्रत्यक्ष भिडन्तको केन्द्र बन्दै गएको छ।
फागुन २१ गते हुने निर्वाचनलाई महेश बस्नेतको वर्चस्व कायम रहने कि मतदाताले नयाँ राजनीतिक सन्देश दिने भन्ने प्रश्नको निर्णायक लडाइँका रूपमा हेरिएको छ।
