काठमाडौं । गण्डकी प्रदेशका पूर्वसांसद तथा पूर्वमन्त्री राजीव गुरुङ (दीपक मनाङे) बुधबार डिल्लीबजार कारागार बाट रिहा भएका छन्।
ज्यान मार्ने प्रयास सम्बन्धी मुद्दामा दोषी ठहर भएका मनाङेलाई पाँच वर्ष कैद सजाय सुनाइएको थियो। तर जिल्ला अदालत काठमाडौंले २० प्रतिशत कैद छुटको सुविधा दिएको कारण उनले करिब चार वर्ष कैद भुक्तान गरेपछि बुधबार रिहा भएका हुन्।
उक्त मुद्दामा न्यायाधीश कमलप्रसाद पोखरेल को इजलासले उनलाई कैद छुट सुविधा दिने निर्णय गरेको थियो। सोही निर्णयका आधारमा उनी कारागारमुक्त भएका हुन्।
यसअघि सर्वोच्च अदालत को संवैधानिक इजलासले मनाङे सांसद हुन अयोग्य ठहर गर्दै पदमुक्त गर्ने फैसला सुनाएको थियो। प्रधानन्यायाधीश प्रकाशमानसिंह राउत सहित न्यायाधीशहरू सपना प्रधान मल्ल, कुमार रेग्मी, हरिप्रसाद फुयाल र कुमार चुडाल को इजलासले उम्मेदवार हुन समेत अयोग्य व्यक्तिले विवरण झुक्याएर सांसद बनेको ठहर गरेको थियो।
मनाङेलाई २०८१ कात्तिक २७ गते पक्राउ गरी कारागार चलान गरिएको थियो।
कारागार प्रशासनका अनुसार कैद जीवनका क्रममा उनले अन्य कैदीबन्दीलाई सम्झाउने, हौस्याउने र अनुशासन कायम राख्न सहयोग गर्ने गरेका थिए। जेलर बाबुराम अर्याल का अनुसार कारागारमा भएको आन्दोलनका बेला समेत उनले कैदीबन्दीलाई भाग्न नदिई शान्त राख्न महत्वपूर्ण भूमिका खेलेका थिए।
मनाङे राजनीतिमा सधैं विवाद र चर्चाको केन्द्रमा रहँदै आएका व्यक्ति हुन्। २०७४ सालको चुनावमा मनाङ जिल्ला (ख) बाट स्वतन्त्र उम्मेदवारका रूपमा निर्वाचित भएका उनले पछि पटकपटक मन्त्री बन्ने अवसर पाएका थिए।
तर २०६१ सालमा चक्रे मिलन भनेर चिनिने मिलन गुरुङ माथि खुँडा प्रहार गरी ज्यान मार्ने प्रयास गरेको आरोपमा दायर भएको मुद्दामा अदालतले अन्ततः उनलाई दोषी ठहर गरेको थियो।
