काठमाडौं । नेपाली कांग्रेस ले भदौ २३ र २४ गते भएको जेनजी प्रदर्शनसम्बन्धी घटनाको न्यायिक जाँचबुझ आयोगले बुझाएको प्रतिवेदन तत्काल सार्वजनिक गर्न सरकारसँग माग गरेको छ।
सानेपास्थित केन्द्रीय कार्यालयमा शुक्रबारदेखि आइतबारसम्म बसेको बैठकले उक्त प्रतिवेदन सार्वजनिक गर्नुपर्ने निष्कर्ष निकाल्दै औपचारिक माग अघि सारेको हो।
बैठकले सभापति गगन थापा को भूमिकाको आवश्यकता अझै रहेको औंल्याउँदै उनको राजीनामा सर्वसम्मत रूपमा अस्वीकृत गर्ने निर्णय गरेको छ। विशेष महाधिवेशनले सुम्पेको जिम्मेवारी पूरा गर्न उनलाई पुनः सक्रिय भूमिकामा फर्किन आग्रह गरिएको छ।
त्यसैगरी, बैठकले हर्मुज क्षेत्रको बन्दर अब्बास बन्दरगाहमा इरानी सेनाको नियन्त्रणमा रहेका नेपाली नागरिक अमृत झालाई सकुशल स्वदेश फर्काउन नेपाल सरकारसँग माग गरेको छ।
मध्यपूर्वमा चर्किएको युद्धप्रति चिन्ता व्यक्त गर्दै बैठकले विश्वशान्तिको आवश्यकता औंल्याएको छ भने युद्धग्रस्त क्षेत्रमा रहेका नेपालीहरूको सुरक्षाका लागि सरकारको ध्यानाकर्षण गराएको छ।
बैठकले हाल देखिएका चुनौतीहरू व्यक्तिगत नभई संरचनागत, प्रणालीगत तथा परिस्थितिजन्य भएको निष्कर्ष निकाल्दै नयाँ नेतृत्वलाई छोटो समयमै सबै समस्या समाधान गर्न कठिन भएको उल्लेख गरेको छ।
यसैबीच, बैठकले निर्वाचन परिणामबारे जिल्ला तथा निर्वाचन क्षेत्रबाट थप प्रतिवेदन माग गर्दै ती सबैलाई एकीकृत गरी पुनः समीक्षा गर्ने निर्णय गरेको छ। साथै पार्टी अब पूर्ण रूपमा १५औँ महाधिवेशनतर्फ केन्द्रित हुने निर्णय पनि गरेको छ।

