ललितपुर । राष्ट्रिय युवा परिषद्ले सूचना प्रविधि उद्यमी तथा स्टार्टअप व्यवसायीहरूलाई लक्षित गर्दै “स्टार्टअप व्यवसायी पुरस्कार” कार्यक्रमका लागि आवेदन आह्वान गरेको छ। परिषद्को सूचना अनुसार केन्द्रीय स्तरमा आयोजना हुने यस कार्यक्रममा उत्कृष्ट युवा उद्यमी छनोट गरी पुरस्कृत गरिनेछ।
परिषद्ले आर्थिक वर्ष २०८२/०८३ को स्वीकृत वार्षिक कार्यक्रमअन्तर्गत १५ वटा सूचना प्रविधि तथा स्टार्टअप व्यवसायहरू छनोट गरी प्रदर्शनीसमेत आयोजना गर्ने जनाएको छ। तीमध्ये उत्कृष्ट ठहरिएका ६ जना व्यवसायीलाई जनही रु. २ लाखका दरले पुरस्कार प्रदान गरिने उल्लेख गरिएको छ।
सूचनामा जनाइएअनुसार आवेदन दिन इच्छुक युवा उद्यमीहरूले कम्तीमा १ वर्षदेखि व्यवसाय सञ्चालन गरिरहेको हुनुपर्नेछ भने उमेर १६ वर्ष पूरा भई ४० वर्ष ननाघेको हुनुपर्नेछ। आवेदन अनलाइनमार्फत परिषद्को वेबसाइटमा उपलब्ध फारम भरी २०८३ वैशाख ११ गते राति १२ बजेसम्म पेश गर्न सकिनेछ।
यस कार्यक्रमको उद्देश्य देशमा उदाउँदो स्टार्टअप संस्कृति प्रवर्द्धन गर्नु, युवा उद्यमशीलतालाई प्रोत्साहन गर्नु तथा सूचना प्रविधि क्षेत्रमा नवप्रवर्तनलाई अघि बढाउनु रहेको परिषद्ले जनाएको छ।
थप जानकारी तथा सहजीकरणका लागि विभिन्न उद्योग वाणिज्य संघ तथा सम्बन्धित संस्थाहरूलाई सम्पर्क बिन्दु तोकिएको पनि सूचनामा उल्लेख गरिएको छ।
