काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय ले विभिन्न तहमा सरुवा तथा खटाइएका कर्मचारीहरूलाई तत्काल कार्यस्थलमा हाजिर हुन निर्देशन दिएको छ।
मन्त्रालयले जारी गरेको सूचनाअनुसार पठाइएका कर्मचारीलाई सम्बन्धित कार्यालयले तुरुन्त हाजिर गराउनुपर्ने र सरुवा भएर गएका कर्मचारीलाई रमाना दिई आवश्यक विवरण मन्त्रालयमा पठाउनुपर्ने उल्लेख गरिएको छ।
यसै क्रममा मन्त्रालयले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, भूमि व्यवस्था मन्त्रालय, शिक्षा मन्त्रालय लगायतका संघीय मन्त्रालयहरू तथा कोशी प्रदेश सरकार, गण्डकी प्रदेश सरकार र सुदूरपश्चिम प्रदेश सरकार अन्तर्गतका कार्यालयहरूबाट विवरण माग गरेको जनाएको छ। साथै मुड्केचुला गाउँपालिका सँग पनि विवरण माग गरिएको छ।
सूचनामा कर्मचारीहरूलाई ३ दिनभित्र अनिवार्य रूपमा नयाँ कार्यस्थलमा हाजिर हुन तथा आवश्यक प्रक्रिया पूरा गरी रमाना लिन निर्देशन दिइएको छ।
मन्त्रालयका अनुसार विभिन्न स्थानमा खटाइएका केही कर्मचारीहरू हालसम्म कार्यस्थलमा नपुगेको गुनासो आएपछि यस्तो निर्देशन जारी गरिएको हो। तोकिएको समयभित्र हाजिर नभएमा प्रचलित कानुनबमोजिम कारबाही प्रक्रिया अघि बढाइने चेतावनी पनि दिइएको छ।
