मे दिवसमा झलनाथ खनालको आह्वान : पार्टी र आन्दोलन पुनर्गठन गरौँ

काठमाडौं । पूर्व प्रधानमन्त्री तथा नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का वरिष्ठ नेता झलनाथ खनालले पार्टी र समग्र कम्युनिस्ट आन्दोलनलाई नयाँ ढंगबाट पुनर्गठन गर्न आह्वान गरेका छन् । ७८औँ स्थापना दिवस तथा अन्तर्राष्ट्रिय श्रमिक दिवस (मे दिवस) को सन्दर्भमा शुभकामना सन्देश जारी गर्दै उनले विगतका कमजोरीहरूको गहिरो समीक्षा अपरिहार्य भएको बताएका हुन् ।

खनालले नेपाली कम्युनिस्ट आन्दोलनले ७७ वर्ष पार गर्दै ७८ वर्षमा प्रवेश गरेको उल्लेख गर्दै यस अवधिमा राष्ट्रियता, लोकतन्त्र र सामाजिक मुक्तिका लागि महत्त्वपूर्ण सङ्घर्षहरू सम्पन्न भएको स्मरण गरे । उनले सङ्घीय लोकतान्त्रिक गणतन्त्र स्थापना ऐतिहासिक उपलब्धि भए पनि जनजीविकासँग जोडिएका आधारभूत सवालहरू समाधान गर्न नसकिएको स्वीकार गरे ।

उनका अनुसार जनताका गाँस, वास, कपास, शिक्षा, स्वास्थ्य, रोजगारी र सुरक्षाजस्ता मुद्दा सम्बोधन हुन नसक्दा जनअसन्तोष बढ्दै गएको छ। यही असन्तोषका कारण ठुलो सङ्ख्यामा युवाहरू विदेशिन बाध्य भएको र त्यसबाट विभिन्न शक्तिहरूले फाइदा उठाएको उनको भनाइ छ ।

खनालले पछिल्लो निर्वाचनमा वामपन्थी शक्तिले भोगेको पराजयलाई गम्भीर रूपमा लिनुपर्ने बताएका छन् । २०७४ को निर्वाचनमा उल्लेखनीय सफलता हासिल गरेको वामपन्थी शक्तिले २०८२ को निर्वाचनमा निकै कमजोर प्रदर्शन गर्नुका कारणबारे गहिरो विश्लेषण आवश्यक रहेको उनले औँल्याए ।

‘के यो केवल बाह्य चलखेलको परिणाम हो, वा आन्तरिक कमजोरीहरू पनि छन्रु’ भन्ने प्रश्न उठाउँदै उनले आत्मालोचनाको आवश्यकता औँल्याए ।

उनले वर्तमान राजनीतिक परिस्थितिमा नयाँ शक्ति सन्तुलनको यथार्थ विश्लेषण गर्दै पार्टीलाई वैचारिक, राजनीतिक, संगठनात्मक र कार्यशैलीगत रूपमा रूपान्तरण गर्नुपर्नेमा जोड दिए। साथै, नेताहरूले कार्यकर्तामाथि दोषारोपण नगरी आफ्नै कमजोरी स्वीकार गर्नुपर्ने उनले स्पष्ट पारे ।

खनालले चुनौतीका बिच पनि अवसरहरू प्रशस्त रहेको उल्लेख गर्दै समाजवादको लक्ष्यप्रति प्रतिबद्ध रहन आग्रह गरे । ‘समाजवाद मानव मुक्तिको यात्रा हो, यसलाई कसैले रोक्न सक्दैन,’ उनले सन्देशमा भनेका छन् ।
उनले समृद्ध नेपाल र सुखी नेपाली बनाउने लक्ष्य हासिल गर्न दृढताका साथ अघि बढ्न सम्पूर्ण कम्युनिस्ट कार्यकर्तालाई आह्वान गरेका छन्।

थप समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.