उपचार खर्च जुटाउन नसक्दा ३ वर्षीया छोरीको जीवन संकटमा

किसान बुबाको पीडादायी गुहार

धादिङको रोलाङ गाउँपालिका वडा न २ चिसापानि क्षेत्रका ३२ वर्षीय सोमबहादुर चेपाङ अहिले जीवनकै कठिन अवस्थाबाट गुज्रिरहेका छन्। तीन सन्तानका बुबा सोमबहादुरकी ३ वर्षीया छोरी केही दिनअघि अचानक बिरामी परेपछि उपचारका लागि अस्पताल पुर्‍याइएको थियो। तर छोरीको अवस्था अझै गम्भीर छ। उनी अस्पतालको आईसीयूमा उपचाररत छिन् भने उपचार खर्च जुटाउन नसक्दा परिवार थप संकटमा परेको छ। पेसाले किसान रहेका सोमबहादुरले छोरीलाई यस्तो अवस्थामा पुग्लिन् भनेर कहिल्यै कल्पना गरेका थिएनन्। सामान्य रूपमा घरमै रहेकी तीन वर्षीया छोरी एक्कासी बिरामी परेपछि सुरु भएको उपचारको यात्रा अहिले परिवारका लागि ठूलो आर्थिक बोझ बनेको छ। सोमबहादुरका अनुसार उनकी छोरी बिहान करिब ६ बजेतिर सुतेकी थिइन्। बिहान करिब ९ बजेतिर छोरी असामान्य रूपमा छटपटाउन थालेपछि परिवार आत्तियो। तत्कालै गाउँकै मेडिकलमा लगियो। त्यहाँबाट थप उपचार आवश्यक देखिएपछि अस्पताल लैजाने तयारी गरिएको थियो। छोरीको अवस्था गम्भीर हुँदै गएपछि साँझ घरबाट हिँडेर राति करिब ७ बजेतिर मलेखु अस्पताल पुगिएको सोमबहादुर बताउँछन्। मलेखुमा उपचारपछि छोरीलाई थप उपचारका लागि काठमाडौं ल्याउनुपर्ने भयो। त्यसपछि एम्बुलेन्समार्फत उनलाई काठमाडौं ल्याइयो। त्यसका लागि मात्रै करिब ७ हजार ५ सय रुपैयाँ खर्च भएको उनले बताए। राति करिब ११ बजेतिर क्रान्ति अस्पताल पुर्‍याइएको सोमबहादुरले बताए। सुरुमा सामान्य वार्डमा राखेर उपचार सुरु गरिएको थियो। तर छोरीको अवस्था हेर्दा आईसीयूमा राखेर उपचार गर्नुपर्ने चिकित्सकहरूले बताएका थिए। त्यसपछि उनलाई मनमोहन अस्पतालमा आईसीयूमा राखेर उपचार सुरु गरिएको सोमबहादुर बताउँछन्। चिकित्सकको सल्लाहअनुसार छोरीलाई आईसीयूमा भर्ना गरिएको हो। अस्पताल पुगेपछि छोरीलाई छारे रोगजस्तो समस्या देखिएको बताइएको सोमबहादुरको भनाइ छ। तर वास्तवमा छोरीलाई के भएको हो भन्ने विषयमा अझै स्पष्ट जानकारी पाउन नसकेको उनले बताए। “अस्पतालले के भएर यस्तो भयो भन्ने कुरा पत्ता लगाउन सकेका छैनौँ भनेको छ,” सोमबहादुरले भने। छोरी आईसीयूमा भर्ना भएको करिब सात दिन हुन लाग्दा पनि उनको होस फर्किएको छैन। छोरी कहिले होसमा आउँछिन् भन्नेबारे चिकित्सकले समेत यकिन समय बताउन नसकेको सोमबहादुरको भनाइ छ। छोरीको अवस्था सम्झिँदा उनी भावुक हुन्छन्, तर उपचार रोक्न पनि सक्ने अवस्थामा छैनन्। उपचारका क्रममा अस्पतालको बेड तथा आईसीयूको खर्च मात्रै दैनिक रूपमा ठूलो रकम भइरहेको परिवारको भनाइ छ। सोमबहादुरका अनुसार बेडको खर्च करिब १८ देखि २० हजार रुपैयाँसम्म लाग्ने गरेको छ। त्यसमाथि चिकित्सकको शुल्क, औषधि तथा अन्य उपचार खर्च छुट्टै छ। “डाक्टर एकपटक आउँदा २ हजार रुपैयाँ लाग्छ भनेको थियो। कति पटक डाक्टर आउनुभयो भन्ने पनि मलाई थाहा हुँदैन,” उनले आफ्नो आर्थिक तथा शैक्षिक अवस्थाका कारण अस्पतालका सबै खर्चको हिसाब बुझ्न कठिन भइरहेको बताए। औषधिमै हालसम्म करिब ३५ देखि ४० हजार रुपैयाँ खर्च भइसकेको सोमबहादुरले बताए। एम्बुलेन्स, अस्पताल, औषधि र अन्य उपचार खर्च जोड्दा अहिलेसम्म करिब २ लाख रुपैयाँ खर्च भइसकेको उनको भनाइ छ। तर छोरीको उपचार अझै पूरा भएको छैन। अस्पतालले थप कति दिन उपचार गर्नुपर्ने हो भन्ने पनि यकिन छैन। यही अवस्थाले सोमबहादुरलाई सबैभन्दा ठूलो चिन्तामा पारेको छ। छोरीलाई अस्पतालमा राखेर उपचार गरिरहनुपर्ने अवस्था छ, तर उपचार खर्च धान्ने क्षमता परिवारसँग छैन। अर्कोतर्फ खर्च अभावकै कारण छोरीलाई अस्पतालबाट घर लैजान पनि सक्ने अवस्था छैन। “अस्पतालमा राख्न पनि नसक्ने र निकाल्न पनि नसक्ने अवस्थामा अड्किएको छु,” सोमबहादुरले पीडा सुनाउँदै भने। उनका तीन सन्तान छन्। दुई छोरा र एक छोरीमध्ये अहिले बिरामी परेकी तीन वर्षीया छोरी नै उनको जीवनको सबैभन्दा ठूलो चिन्ताको कारण बनेकी छन्। उनकी श्रीमती करिब २७ वर्षकी छन्। सोमबहादुरका अनुसार उनले १९ वर्षकै उमेरमा विवाह गरेका थिए। सामान्य किसान परिवारमा जन्मिएका उनी खेतीपाती गरेर परिवारको जीविकोपार्जन गर्दै आएका छन्। गाउँमा खेतीपाती गरेर परिवार पाल्दै आएका सोमबहादुरका लागि अहिले एकैपटक ठूलो रकम जुटाउनु असम्भवजस्तै भएको छ। दैनिक ज्यालादारी वा खेतीपातीबाट आउने आम्दानीले घरखर्च धान्नसमेत मुस्किल पर्ने अवस्थामा छोरीको उपचारका लागि लाखौँ रुपैयाँ आवश्यक परेपछि उनी सहयोगको खोजीमा छन्। उनीसँग छोरीको उपचार रोक्ने विकल्प छैन। छोरीको जीवन बचाउन जसरी भए पनि उपचार जारी राख्नुपर्ने उनको बाध्यता छ। तर आर्थिक अभावले उपचार नै रोकिएला कि भन्ने डरले उनलाई दिनरात सताइरहेको छ। सोमबहादुरले आफ्नो आर्थिक अवस्था कमजोर भएकाले सहयोगी मनहरूलाई छोरीको उपचारका लागि सहयोग गरिदिन अपिल गरेका छन्। आफूले सक्ने सबै प्रयास गरिसकेको र अब थप उपचारका लागि अरूको सहयोग आवश्यक परेको उनको भनाइ छ। “सहयोग भयो भने छोरीको उपचार गर्छु। आफ्नो व्यक्तिगत अवस्थाले अस्पतालमा राखेर उपचार गरिरहन सक्ने अवस्था छैन,” उनले सहयोगको याचना गर्दै भने।

थप समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.