ललितपुर । लागू पदार्थ सेवन गरी सवारी साधन चलाएको आरोपमा ललितपुरबाट ६ जना चालक पक्राउ परेका छन्।
जिल्ला प्रहरी परिसर ललितपुरका अनुसार २०८३ कात्तिक १६ गते ललितपुर महानगरपालिका–१५ हात्तीवनमा गरिएको सवारी जाँचका क्रममा उनीहरू पक्राउ परेका हुन्।
प्रहरी वृत्त सातदोबाटो, नेपाल प्रहरी अस्पताल र ट्राफिक प्रहरी परिसर सातदोबाटोको संयुक्त प्रहरी टोलीले सञ्चालन गरेको चेकिङका क्रममा चालकहरूले लागू पदार्थ सेवन गरी सवारी चलाएको पाइएको प्रहरीले जनाएको छ।
पक्राउ पर्नेमा गोदावरी नगरपालिका–१ का २९ वर्षीय सुदीप कार्की, धादिङको धुनिबेँसी नगरपालिका–७ घर भई हाल हरिसिद्धी बस्ने २५ वर्षीय सञ्जय तामाङ, धादिङको थाक्रे गाउँपालिका–५ घर भई हाल काठमाडौंको नैकाप बस्ने २५ वर्षीय अनिल लामा रहेका छन्।
त्यसैगरी गोदावरी नगरपालिका–२ मानेडाँडाका २५ वर्षीय जोन बिशंखे, नुवाकोटको बेलकोटगढी नगरपालिका–४ घर भई हाल हरिसिद्धी बस्ने ३६ वर्षीय चतुरमान तामाङ र मकवानपुरको बकैया गाउँपालिका–५ घर भई हाल गोदावरी नगरपालिका–२ घुम्ती बस्ने २५ वर्षीय दिलीप सिलवाल पनि पक्राउ परेका छन्।
प्रहरीले पक्राउ परेका सबै चालकको स्वास्थ्य परीक्षण गराउनुका साथै लागू पदार्थ सेवनसम्बन्धी कसुरमा अनुसन्धान अघि बढाएको छ। उनीहरूलाई ललितपुर जिल्ला अदालतबाट तीन दिनको म्याद थप गरी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर ललितपुरले जनाएको छ।
