काठमाडौं । उद्यमशीलता विकास गरी स्वरोजगार बन्न चाहने व्यक्तिलाई लक्षित गर्दै औद्योगिक व्यवसाय विकास प्रतिष्ठानले एक हप्ते निःशुल्क उद्यमशीलता विकास तालिम (EDP) सञ्चालन गर्ने भएको छ।
प्रतिष्ठानले इच्छुक व्यक्तिहरूलाई आफ्नो व्यक्तिगत क्षमता मूल्याङ्कन, उपयुक्त व्यवसाय छनोट तथा व्यावसायिक योजना तयार गरी व्यवसाय सुरु गर्न सहयोग पुर्याउने उद्देश्यले तालिम सञ्चालन गर्न लागेको हो।
तालिममा सहभागी हुन चाहने व्यक्तिले २०८३ कात्तिक १३ गतेदेखि ३० गतेसम्म इमेलमार्फत आवेदन दिन सक्नेछन्। आवेदनका लागि प्रतिष्ठानले program@iedi.gov.np इमेल ठेगाना उपलब्ध गराएको छ।
प्रतिष्ठानका अनुसार इच्छुक आवेदकको सम्पर्क मिति २०८३ मंसिर ४ गते तोकिएको छ भने अन्तरवार्ता मंसिर ७ देखि ९ गतेसम्म अनलाइन माध्यमबाट सञ्चालन हुनेछ। छनोट भएका सहभागीका लागि मंसिर १४ देखि २१ गतेसम्म तालिम सञ्चालन गरिनेछ।
तालिममा सहभागी हुन न्यूनतम शैक्षिक योग्यता एसएलसी/एसईई वा सोसरह उत्तीर्ण गरेको हुनुपर्नेछ। त्यस्तै, १६ वर्ष पूरा भई ५० वर्ष ननाघेका व्यक्तिहरूले आवेदन दिन सक्नेछन्।
उद्यमशीलता, व्यवसाय सञ्चालन तथा स्वरोजगारका क्षेत्रमा रुचि भएका व्यक्तिहरूका लागि तालिम उपयोगी हुने प्रतिष्ठानले जनाएको छ।
