काठमाडौं । काठमाडौंको प्रमुख पर्यटकीय गन्तव्य ठमेललाई अब २४सै घण्टा सुरक्षित, व्यवस्थित, पारिवारिक र मर्यादित ढङ्गले सञ्चालन गर्ने तयारी अघि बढाइएको छ।
ठमेल पर्यटन विकास परिषद्को नवनिर्वाचित टोलीले बुधबार काठमाडौंका प्रमुख जिल्ला अधिकारी ईश्वरराज पौडेलसँग गरेको भेटवार्तामा ठमेललाई २४सै घण्टा सञ्चालन गर्न आवश्यक सुरक्षा, व्यवस्थापन र सहकार्यलाई प्रभावकारी बनाउने विषयमा सहमति भएको हो।
ठमेललाई रात्रीकालीन पर्यटनको आकर्षक गन्तव्यका रूपमा विकास गर्दै व्यवसायी, पर्यटक र स्थानीयवासी सबैका लागि सुरक्षित वातावरण निर्माण गर्ने विषयलाई प्राथमिकता दिइएको परिषद्ले जनाएको छ। २४सै घण्टा सञ्चालनको अवधारणासँगै ठमेलमा पर्यटन व्यवसाय, मनोरञ्जन तथा सेवामूलक गतिविधिलाई व्यवस्थित रूपमा विस्तार गर्ने अपेक्षा गरिएको छ।
ठमेल पर्यटन विकास परिषद्का तत्कालीन अध्यक्ष भविश्वर शर्माको पहलमा २०८१ सालमा तत्कालीन गृहमन्त्री रवि लामिछानेले ठमेललाई २४सै घण्टा सञ्चालन गर्ने घोषणा गरेका थिए। सोही अवधारणालाई निरन्तरता दिँदै अहिले नवनिर्वाचित परिषद् नेतृत्वले ठमेललाई थप सुरक्षित र व्यवस्थित बनाउने पहल अघि बढाएको हो।
ठमेल काठमाडौंको पर्यटन, मनोरञ्जन, होटल तथा रात्रिकालीन व्यवसायको प्रमुख केन्द्रका रूपमा परिचित छ। अब २४सै घण्टा सञ्चालनको अवधारणालाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न सकेमा पर्यटकको बसाइ लम्ब्याउन, पर्यटन व्यवसायलाई चलायमान बनाउन तथा काठमाडौंको रात्रिकालीन पर्यटनलाई नयाँ गति दिन सहयोग पुग्ने अपेक्षा गरिएको छ।
