काठमाडौं: नेकपा एमालेले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले देशलाई अस्थिर बनाउने प्रयास गरिरहेको आरोप लगाएको छ। एमालेका प्रमुख सचेतक महेश बर्तौलाले सोमबार सञ्चारकर्मीहरूसँग कुरा गर्दै प्रचण्डले राजनीतिक स्थायित्वका लागि हानिकारक अभिव्यक्ति दिइरहेको बताएका हुन्।
बर्तौलाले प्रचण्डले राजनीतिको कुनै पनि यात्रामा भेट कहिले पनि हुन नसक्नेगरी अभिव्यक्ति दिएको भन्दै आपत्ति जनाएका छन्। उनले भने, “उहाँ आफैंमा पनि मूलुकलाई एउटा शान्तिपूर्ण ढंगबाट अगाडि बढोस् भन्ने चाहाना गर्ने व्यक्तिभित्र पनि पर्नुहुन्न कि भन्ने अब आशंका लागेको छ।”
बर्तौलाले प्रचण्डले तेस्रो दलको रूपमा रहँदा पनि कहिले एमालेको र कहिले कांग्रेसको काँध चडेर १८ महिना देशको नेतृत्व गर्ने कुरामा पाएको सहयोग विर्सेर सरकारप्रति हिलो छ्याप्ने भ्रम सृजना गर्ने गरी अभिव्यक्ति दिने गरेको बताए।
उनले भने, “उहाँले बुझ्न पर्ने कुरा के हो भने उहाँ तेस्रो दलको रुपमा हुनुहुन्थ्यो कहिले एमालेको काँध चडेर कहिले कांग्रेसको काँध चडेर उहाँ १८ महिना देशको नेतृत्व गर्ने कुरा एमाले वा कांग्रेसको सहयोगबाट पाएको कुरा उहाँले यति चाँडो कसरी विर्सेर एमाले र कांग्रेस मिलेर बनेको सरकारलाई पहिलो दिन देखि नै जुन खालको हिलो छ्याप्ने भ्रम सृजना गर्ने गरी जसरी अभिव्यक्ति दिने काम गर्नुभएको छ। यसको औषधि छैन।”
बर्तौलाले सरकार ढलेपनि एमाले वा कांग्रेस सामेल नभई यो देशमा सरकार बन्न नसक्ने दाबी गरे। उनले भने, “अराजकता र अस्थिरता चाहानेले यस्तै कुराको खेतिपाति गर्छन्। उहाँले त्यही गरिरहनु भएको छ। कल्पनामा यो सरकार ढलेपनि उहाँले कुन सरकार बनाउनु हुन्छ? एमाले वा कांग्रेस सामेल नभई यो देशमा सरकार बन्दैन्। उहाँलाई यो कुरा पनि थाहा छ कि यो सरकार कुनै पनि हिसाबले कम्जोर धरातलमा पुगेको सरकार होईन्।”
एमालेको यो आरोपपछि राजनीतिक माहोल अझै तातिने देखिएको छ। प्रचण्डले यसबारे के प्रतिक्रिया दिनेछन् भन्ने कुरा अब हेर्न बाँकी छ।
