ललितपुरमा फ्ल्याटको ताल्चा फुटाएर चोरी गर्ने तीन जना पक्राउ, नगद र गरगहना बरामद

ललितपुर। ललितपुर महानगरपालिका–१५ स्थित भेल्पा मन्दिर नजिकै रहेको एक फ्ल्याटमा चोरी गर्ने तीन जनालाई प्रहरीले २४ घण्टाभित्र पक्राउ गरेको छ।

जिल्ला प्रहरी परिसर ललितपुरका अनुसार २०८३ मंसिर ९ गते रातिको समयमा फ्ल्याटमा कोही नभएको मौका छोपी ढोकाको इन्टरलक ताल्चा फुटाएर सुन, चाँदी, नगद तथा अन्य जिन्सी सामान चोरी भएको सूचना प्राप्त भएको थियो।

बाँके जिल्लाको कोहलपुर नगरपालिका–१० घर भई हाल ललितपुर महानगरपालिका–१५, भेल्पा मन्दिर नजिक डेरा गरी बस्ने २६ वर्षीय मनिष श्रेष्ठको फ्ल्याटमा चोरी भएको प्रहरीले जनाएको छ।

सूचना प्राप्त हुनासाथ जिल्ला प्रहरी परिसर ललितपुर तथा प्रहरी वृत्त सातदोबाटोबाट खटिएको प्रहरी टोलीले अनुसन्धान अघि बढाएको थियो। अनुसन्धानका क्रममा विभिन्न स्थानबाट चोरीमा संलग्न तीन जनालाई चोरी भएको धनमालसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ।

पक्राउ पर्नेमा ललितपुर महानगरपालिका–६ सुन्धारा घर भई हाल भक्तपुर पुरानो बसपार्क बस्ने ३६ वर्षीय प्रवेश मुनि शाक्य, ललितपुर महानगरपालिका–७ दुपाट बस्ने ३७ वर्षीय अमित महर्जन र काभ्रेको नमोबुद्ध नगरपालिका–४ घर भई हाल ललितपुर महानगरपालिका–७ ग्वार्को बस्ने २९ वर्षीय गोविन्द लामा रहेका छन्।

प्रहरीले उनीहरूको साथबाट नगद १ लाख ४५ हजार ६२० रुपैयाँ, सुन तथा चाँदीका गरगहना, मोबाइल फोनलगायतका चोरीका सामान बरामद गरेको छ।

पक्राउ परेका तीनै जनालाई चोरी कसुरमा सम्मानित ललितपुर जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर ललितपुरका प्रवक्ता एवं सूचना अधिकारी प्रहरी उपरीक्षक गौतम मिश्रले जानकारी दिएका छन्।

थप समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.