काठमाडौं – नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओली मुलुकप्रति गम्भीर नभएको आरोप लगाएका छन्। शनिबार नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) प्रथम उपत्यका प्रदेश अधिवेशनलाई सम्बोधन गर्दै उनले ओली देश चलाउनका लागि र जनताको समस्या समाधानका गर्नका लागि नभइ सत्तालाई आफ्नो स्वार्थमा प्रयोग गर्न केन्द्रित भएको बताए।
“वर्तमान प्रधानमन्त्री केपी शर्मा ओली मुलुक सञ्चालन गर्ने कुरामा गम्भीर हुनुहुन्न। जनताको समस्या समाधानका गर्नका लागि जिम्मेवार हुनुभएको छैन। सत्तालाई आफ्नो स्वार्थमा प्रयोग गर्ने कुरामा केन्द्रित भएर लाग्नुभएको छ। जसका कारण मुलुकको भविष्य संकटमा पर्ने संभावना देखिन्छ,” नेपालले भने।
उनले कांग्रेस र एमालेलाई संख्याको मात लागेको भए छिमेकी देश बंगलादेश र श्रीलंका सम्झिन आग्रह गरे। “अहिले उहाँले नयाँ भाष्य ल्याउनु भयो नेपालमा दुईवटा ठूला पार्टी मात्रै छन् भन्ने बुझाइरहनु भएको छ। दुई दलीय व्यवस्था नेपालमा स्थापित गर्नुपर्छ भन्ने ओलीको सोच छ, बहुदलीय होइन। संविधान संशोधन गरेर बहुदलीय नभइ दुई दलीय शासन प्रणाली स्थापित गर्न खोज्नु भएको हो कि? हामी त्यो पर्खेर बसिरहेका छौं,” उनले भने।
“उहाँहरुलाई संख्याको मात लागेको छ भने छिमेकी देशहरु सम्झिनुस्। चाहे बंगलादेश होस्, चाहे श्रीलंका होस्, त्यसले पाठ त सिकाइसकेको छ। संख्याले मात्र केही पनि हुँदैन, त्यो संख्याको मात लाग्यो भने यसको दुरुपयोग गर्न थाल्नुभयो भने त्यसको प्रतिकार गर्न जनता उत्रिने छन्। जनता भन्दा शक्तिशाली कोहीपनि हुँदैन,” नेपालले थपे।
उनले पदमा बस्नको लागि धेरै आतुर हुने, तर पदीय जिम्मेवारी पूरा नगर्ने प्रवित्ति बढेको बताए। उनले जनतामा नयाँ आशा, भरोसा र विश्वास दिलाउन सक्नुपर्ने औंल्याए।
