पोखरा।
पर्वत जिल्लाको कुश्मा नगरपालिका-१४ बगालथोकस्थित ठूलढुङ्गा सामुदायिक वनमा आगो लगाएको आरोपमा दुई जना युवालाई प्रहरीले पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय पर्वतका अनुसार पक्राउ परेका व्यक्तिहरू २६ वर्षीय सुवास पौडेल र ३१ वर्षीय रमेश पौडेल हुन्। उनीहरूलाई सामुदायिक वनमा आगो लगाएको आरोपमा नियन्त्रणमा लिई आवश्यक कानूनी कारबाहीका लागि डिभिजन वन कार्यालय पर्वत पठाइएको छ।
प्रहरीले वन जङ्गलमा आगलागी गराउनु गम्भीर अपराध भएको भन्दै सचेत रहन आग्रह गरेको छ। वनमा आगलागी भएमा वा कसैले नियतवश आगो लगाएको थाहा पाएमा नजिकको प्रहरी कार्यालय अथवा पैसा नलाग्ने नम्बर १०० मा तुरुन्त सम्पर्क गर्न आग्रह गरिएको छ।
वन जोगाउन र सम्भावित दुर्घटना तथा प्राकृतिक सम्पदामा क्षति हुन नदिन सुरक्षाकर्मीको सक्रियता र नागरिकको जिम्मेवारी महत्त्वपूर्ण हुने प्रहरीको भनाइ छ।
