काठमाडौं । नागरिक उन्मुक्ति पार्टीको केन्द्रीय समिति बैठक आजदेखि बस्दैछ। गत वर्ष सम्पन्न पहिलो महाधिवेशनपछि बस्न लागेको यो पहिलो केन्द्रीय समिति बैठक हो। बैठक चैत ८ र ९ गते काठमाडौंको मध्य बानेश्वरस्थित सनराइज क्याफेमा बिहान ११ः०० बजेबाट सुरू हुनेछ।
पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठले समसामयिक राजनीति, अन्य दलहरूसँगको एकीकरण र मोर्चाबन्दी लगायतका विषयमा छलफल गर्न आकस्मिक रूपमा केन्द्रीय समिति बैठक आह्वान गरेकी छन्।
बैठकमा पार्टीका प्रमुख संरक्षक रेशम चौधरी जेलमा हुँदा बनेका केन्द्रीय सदस्यहरू, प्रथम महाधिवेशनबाट निर्वाचित केन्द्रीय सदस्यहरू, संस्थापक केन्द्रीय सदस्यहरूलाई बोलाइएको छ। साथै, पार्टीबाट निर्वाचित संघ र प्रदेशका प्रतिनिधिहरू, स्थानीय तहका प्रमुख तथा उपप्रमुखहरू, जसलाई पछि केन्द्रीय समिति सदस्य बनाइएको थियो, उनीहरू पनि बैठकमा सहभागी हुनेछन्।
नागरिक उन्मुक्ति पार्टीको पहिलो महाधिवेशन गत पुस २६–२८ गते कैलालीको टिकापुरमा सम्पन्न भएको थियो। आगामी राजनीतिक रणनीति तय गर्न आज सुरू हुने केन्द्रीय समिति बैठकलाई महत्वका साथ हेरिएको छ।
