काठमाडौं । राष्ट्रियसभाको बैठक आज (आइतबार) अपराह्न १२ः१५ बजे बस्दैछ। बैठकमा विभिन्न महत्वपूर्ण विधेयकमाथि छलफल हुने कार्यसूची रहेको छ।
बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीको तर्फबाट सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले ‘सुशासन प्रवर्धन तथा सार्वजनिक सेवा प्रवाह सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८१’ माथि छलफलको प्रस्ताव प्रस्तुत गर्नेछन्।
त्यसैगरी, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले ‘सहकारी सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८१’ माथि विचार गरियोस् भन्ने प्रस्ताव पेश गर्नेछन्।
उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले ‘आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संशोधन) विधेयक, २०८१,’ ‘निजीकरण (पहिलो संशोधन) विधेयक, २०८१’ र ‘आर्थिक तथा व्यावसायिक वातावरण सुधार र लगानी अभिवृद्धि सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८१’ माथि छलफलका लागि प्रस्ताव प्रस्तुत गर्नेछन्।
बैठकमा यी विधेयकमाथि विस्तृत छलफल गरिने अपेक्षा गरिएको छ।
