काठमाडौं, चैत २४ – धरान उपमहानगरपालिकाका मेयर हर्कराज साम्पाङले नेपालको वर्तमान राजनीतिक अभ्यासप्रति गम्भीर प्रश्न उठाउँदै आफूले लोकतन्त्रको अनुभव नगरेको बताएका छन्।
आइतवार साँझ काठमाडौं आएका मेयर साम्पाङले सञ्चारकर्मीहरूसँग कुरा गर्दै राज्यको संरचना र व्यवहारमा गहिरो असन्तुष्टि व्यक्त गरे। उनले जनताको सार्वभौमिकताको सवाल उठाउँदै भने, “लोकतन्त्रमा जनता सार्वभौम हुनुपर्छ, तर मैले अझै लोकतन्त्रको अनुभव पाएको छैन।”
सिंहदरबार पुग्न समेत सेटिङ गर्नुपर्ने अवस्थालाई लिएर उनले व्यंग्यात्मक टिप्पणी गरे। “भोली सिंहदरबार जानुपर्ने छ, तर त्यहाँ जान पनि सेटिङ गरेर जानुपर्नेछ। मलाई त्यो हुन्छ भने सर्वसाधारण जनताले मन्त्रीलाई भेट्न सक्छन्?” उनले प्रश्न गरे।
साम्पाङले दलगत स्वार्थ र लविङप्रति पनि आलोचना गर्दै भने, “हामी जुनसुकै पार्टीबाट निर्वाचित भएर आएका होऊँ, जनताको प्रतिनिधि बनेपछि पार्टीभन्दा माथि उठेर काम गर्नुपर्छ। तर अहिले त्यो अभ्यास नभएकै कारण राजतन्त्रको माग उठ्न थालेको हो।”
उनले सरकारलाई जनप्रतिनिधि र जनताको आवाज नसुन्ने गरेको आरोप पनि लगाए। “सरकार जनताको कुरामा गम्भीर छैन। यही कारण जनतामा निराशा र आक्रोश बढ्दै गएको छ,” उनले भने।
मेयर साम्पाङको उक्त अभिव्यक्तिलाई सामाजिक सञ्जालमा धेरैले समर्थन गरेका छन् भने केहीले यसलाई प्रणालीप्रतिको असन्तोषको प्रतिविम्ब मानेका छन्।
