देशव्यापी प्रदर्शनका क्रममा नख्खु कारागार, ललितपुरमा मिति २०८२ भाद्र २४ गते भएको आक्रमण, तोडफोड तथा आगजनीपछि १२८० जना कैदीबन्दी फरार भएका थिए। सो घटनापछि हालसम्म ५८७ जना नख्खु कारागारमा फर्किसकेका छन् भने करिब ५० जना देशभरका अन्य कारागारमा रहेको पाइएको छ। तर अझै करिब ६५१ जना कैदीबन्दी फरार नै रहेको कारागार व्यवस्थापन विभागले जनाएको छ।
यसै सन्दर्भमा कारागार कार्यालय, नख्खुले मिति २०८२ भाद्र २६ गते फरार भएका सम्पूर्ण कैदीबन्दीलाई स्वेच्छाले फर्की आउन सार्वजनिक अपिल गरेको थियो। विभागले मिति २०८२/०६/१० गतेदेखि ‘फरार कैदीबन्दी खोजी तथा पक्राउ अभियान’ सञ्चालन गर्न परिपत्रसमेत गरेको छ।
कारागार व्यवस्थापन विभागका अनुसार अझै फरार अवस्थामा रहेका कैदीबन्दीलाई आगामी २०८२ आश्विन २० गते सोमबारसम्म कारागारमा फर्की आउन आग्रह गरिएको छ। विभागले तोकिएको म्यादभित्र फर्की नआएमा कारागार ऐन, २०७९ लगायत प्रचलित कानुनअनुसार कारबाही गरिने चेतावनी दिएको छ।
विभागले फरार कैदीबन्दीको खोजी तथा नियन्त्रणमा सहयोग पु¥याउन कैदीबन्दीका परिवारजन, सुरक्षा निकाय, स्थानीय तह, सञ्चार माध्यम तथा सरोकारवाला सबैसँग आग्रह गरेको छ।

